अन्तर्राष्ट्रिय

प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन



ब्रसेल्स, ५ कात्तिक (रासस/एएफपी):

पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका छन् । युरोपेली आयोगले बिहीबार यसबारे जानकारी दिएको हो । नोभेम्बर २०२३ मा युरोपेली उपभोक्ता समूहहरूले यी कम्पनीका बोतलबन्द पानीसम्बन्धी उत्पादनमा भ्रामक वातावरणमैत्री दाबी गरिएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि भएको छलफलमा कम्पनीहरूले बोतलमा प्रयोग गरिने केही शब्दावली परिवर्तन गर्न सहमति जनाएको आयोगले बताएको छ । यसअघि प्रयोग हुँदै आएको ‘म सत प्रतिशत रिसाइकल गरिएको प्लास्टिकबाट बनेको बोतल हुँ’ भन्ने नारालाई अब ‘यो बोतल सत प्रतिशत रिसाइकल गरिएको छ, बिर्को र लेबल बाहेक’ भन्ने सन्देशले प्रतिस्थापन गरिनेछ । यसबाट बिर्को र लेबलमा प्रयोग गरिएको सामग्रीसमेत रिसाइकल गरिएको हो भन्ने भ्रम हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, कम्पनीहरूले बोतलमा ‘मलाई फेरि रिसाइकल गर्नुहोस्’ भन्ने सन्देशको सट्टा ‘मलाई रिसाइकल गर्नुहोस्’ लेख्न सहमति जनाएका छन् । यसले उपभोक्तामा उक्त बोतल पहिले नै रिसाइकल भइसकेको छ भन्ने गलत धारणा उत्पन्न हुन नदिने आयोगको भनाइ छ । कम्पनीहरूले आफ्ना अनलाइन सञ्चार तथा डिजिटल प्रचार अभियानमा पनि ईयूसँग गरेका प्रतिबद्धता प्रतिबिम्बित हुने गरी वातावरणीय दाबी प्रस्तुत गर्नुपर्नेछ । युरोपेली आयोगले कम्पनीहरू र उपभोक्ता संरक्षण सहयोग सञ्जालबीचको वार्तालाई समन्वय गरेको थियो । उक्त सञ्जालमा ईयूका २७ सदस्य राष्ट्रका उपभोक्ता संरक्षणसम्बन्धी निकायहरू सहभागी छन् । आयोगका अनुसार, कोका–कोला र नेस्लेले विशेषगरी डिजिटल प्रचार अभियानमा प्रयोग गरिने रिसाइक्लिङसम्बन्धी दाबीमा सुधार गर्दै केही प्रतिबद्धता कार्यान्वयनसमेत गरिसकेका छन् । यस कदमलाई प्लास्टिकजन्य फोहोर, रिसाइक्लिङ र वातावरणमैत्री उत्पादनसम्बन्धी दाबीमा पारदर्शिता बढाउने ईयूको प्रयासका रूपमा हेरिएको छ । –––

प्रकाशित : ६ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६