रुपन्देही, १२ जेठ
लुम्बिनी साझेदारी वन उपभोक्ता समूहमा मोटरसाइकल प्रयोग गरेर हुने काठ चोरी वन संरक्षणको गम्भीर चुनौतीका रूपमा देखिएको छ। वन भित्र तस्करी नियन्त्रणका क्रममा हाल सम्म ३५ वटा मोटरसाइकल जफत गरिनु यस समस्याको गम्भीर संकेत बनेको छ।
करिब १,३३० हेक्टर क्षेत्रफलमा फैलिएको लुम्बिनी साझेदारी वन हजारौं उपभोक्तासँग प्रत्यक्ष जोडिएको भए पनि पछिल्लो समय मोटरसाइकल मार्फत हुने चोरीका घटनाले वन व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ। तस्करहरूले सवारी साधनको प्रयोग गरी वन भित्रबाट काठ ओसारपसार गर्ने गरेको पाइएको छ।
समूहका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीका अनुसार वनमा आगलागी पछि सबैभन्दा ठूलो चुनौती काठ चोरी नै बनेको छ। उनले वन सुरक्षालाई प्रभावकारी बनाउन निगरानी र नियन्त्रण थप कडा बनाइएको बताउनु भयो ।
वन स्रोतको संरक्षण, दिगो व्यवस्थापन र समुदायको हितका लागि सञ्चालन भइरहेको साझेदारी वनमा चोरी नियन्त्रण प्रभावकारी हुन नसके दीर्घकालीन रूपमा वन संरक्षणमा असर पर्न सक्ने सरोकारवालाको चिन्ता छ। स्थानीय समुदाय, वन समूह र सरोकारवाला निकाय बीच समन्वय र सुरक्षा संयन्त्र सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता देखिएको छ।









प्रतिक्रिया