ललितपुर, १४ जेठ
राष्ट्रिय सहकारी बैंक लिमिटेड का नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार राष्ट्रिय सहकारी महासंघ को सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक अधिवक्ता प्रबल शर्मा ले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

बैंकको २२औँ वार्षिक साधारणसभाको निर्णयअनुसार सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदका लागि २०८३ जेठ ९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित तथा सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधिहरूले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाएका हुन् ।

निर्वाचनबाट बैंकको सञ्चालक समितिमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, बागमती प्रदेशबाट डा. परितोष पौड्याल, गण्डकी प्रदेशबाट कमला गिरी, लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बराल, कर्णाली प्रदेशबाट काली बहादुर महतारा तथा सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट चयन हुनुभएको छ ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पोखरेल र ममता कुमारी शाह चयन हुनुभएको छ ।
बैंकको विधान अनुसार ९ सदस्यीय सञ्चालक समितिमा थप दुई जना विज्ञ सञ्चालक—एक जना सहकारी क्षेत्र र एक जना बैंक तथा वित्तीय क्षेत्रबाट—पछि मनोनयन गरिने व्यवस्था रहेको छ । साथै, निर्वाचित सञ्चालकमध्येबाट अध्यक्ष चयन गरिनेछ । नवनिर्वाचित सञ्चालक समितिको कार्यकाल आगामी चार वर्षको रहने जनाइएको छ ।

कार्यक्रमले सहकारी क्षेत्रको नेतृत्वलाई थप जिम्मेवार, पारदर्शी र संस्थागत बनाउने विश्वास व्यक्त गरिएको छ । सहकारी अभियानलाई उत्पादन, वित्तीय पहुँच, सदस्य सशक्तीकरण र सुशासनसँग जोड्दै राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन् ।









प्रतिक्रिया