दमौली (तनहुँ), २९ जेठः पछिल्लो समय आधुनिकता र प्रविधिको तीव्र प्रभावका कारण गाउँघरमा परम्परागत भजन संस्कृतिमा कमी आउन थालेपछि यसको संरक्षणका लागि स्थानीयले पहल थालेका छन् । धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनको अभिन्न अङ्गका रूपमा रहेको भजनलाई जोगाउन स्थानीय भजन समूह, युवा पुस्ता, आमा समूह तथा सांस्कृतिक संस्थाहरू एकीकृत रूपमा सक्रिय देखिएका छन् ।व्यास नगरपालिका–५ पतेनीस्थित जलेश्वर भजन समूहका अगुवा तेजप्रसाद लामिछानेका अनुसार पछिल्लो पुस्तामा भजनप्रतिको आकर्षण घट्दै गएको चिन्ताका बीच संरक्षणका प्रयासलाई तीव्र बनाइएको छ ।उहाँले भन्नुभयो, “भजन हाम्रो पहिचान हो, यसले गाउँघरको आत्मा बोल्छ । तर पछिल्लो समय मनोरञ्जनका आधुनिक माध्यमहरू बढेसँगै भजन ओझेलमा पर्न थालेको छ । त्यसैले हामीले यसलाई निरन्तरता दिन विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।” उहाँले नियमित भजन अभ्यास, स्थानीय उत्सवहरूमा प्रस्तुति तथा नयाँ पुस्तालाई सिकाउने कार्यक्रममार्फत भजनलाई जीवित राख्ने प्रयास भइरहेको बताउनुभयो । व्यास नगरपालिका–५ स्थित सिन्धु भजन समूहका रामबाबु रेग्मीले पछिल्ला केही वर्षयता युवापुस्तामा भजनप्रति सकारात्मक परिवर्तन देखिन थालेको बताउनुभयो । “पहिले भजनमा ज्येष्ठ नागरिकको मात्र उपस्थिति देखिन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले युवाहरू पनि सहभागी र सिक्न थालेका छन् । यो संरक्षणका लागि अत्यन्त उत्साहजनक पक्ष हो ।” उहाँका अनुसार युवाहरूलाई भजनसँग जोड्नका लागि आधुनिक शैलीमा प्रस्तुति, प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम प्रभावकारी सावित भइरहेका छन् ।व्यास नगरपालिका–१ गल्वुवेसीस्थित नवआदर्श आमा समूहका सावित्री हड्खलेका अनुसार भजन संरक्षणमा आमा समूहहरूको योगदान उल्लेखनीय छ । “हामी भजन संरक्षण गर्नुपर्छ भनेर लागिपरेका छौँ । हाम्रो उद्देश्य केवल पूजा गर्नुमात्र होइन, नयाँ पुस्तालाई संस्कार सिकाउनु पनि हो ।” उहाँका अनुसार आमा समूहहरूले भजनमार्फत सामाजिक एकता, नैतिक शिक्षा र सांस्कृतिक चेतना फैलाउने कामसमेत गरिरहेका छन् ।पराशर आश्रम संरक्षण समितिका सचिव महेन्द्र गिरीले भजन केवल धार्मिक अनुष्ठानमा सीमित विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भजन हाम्रो इतिहास, संस्कृति, जीवनशैली र सामुदायिक एकताको प्रतीक हो । यसले मानिसहरूलाई जोड्ने, सहकार्य र सहिष्णुता बढाउने काम गर्छ ।”भजनले केवल आध्यात्मिक सन्तुष्टिमात्र होइन, सामाजिक एकता र मानसिक शान्ति प्रदान गर्ने माध्यमका रूपमा पनि काम गर्छ । युवा पुस्तामा बढ्दो विदेशमोह, व्यस्त जीवनशैली, आधुनिक सङ्गीतप्रतिको आकर्षण तथा परम्परागत सीप हस्तान्तरणको अभावजस्ता कारणले भजन संस्कृति सङ्कटमा परेको सरोकारवालाहरू बताउँछन् । यस्ता चुनौतीलाई सम्बोधन गर्न स्थानीय तह, विद्यालय, सांस्कृतिक सङ्घसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले बताउनुभयो ।
२९ जेष्ठ २०८३, शुक्रबार









प्रतिक्रिया