अन्तर्राष्ट्रिय

मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम  





काठमाडौँ, २१ साउनः

ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको छ ।    
    
नेपालबाट निर्यातयोग्य उत्पादन, नेपालमा उपलब्ध लगानीका अवसर तथा नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा हालै सो कार्यक्रम गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ ।    
    
कार्यक्रममा कार्यवाहक राजदूत विशेषकुमार साहले ओमानलाई व्यापार तथा लगानी प्रवर्द्धनका लागि नेपालले महत्त्वपूर्ण साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।    
    
नेपालबाट पहिलोपटक उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलको भ्रमण भएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । नेपालमा उपलब्ध लगानीका अवसर, लगानी प्रक्रिया, संस्थागत व्यवस्था तथा ओमानी लगानीकर्ताका लागि नेपाल किन आकर्षक गन्तव्य हुन सक्छ भन्ने विषयमा प्रस्तुति दिनुभएको थियो ।    
    
प्रस्तुतिपछि उहाँले सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा हिमपहिरोमा परी निधन भएका अन्य पर्वतारोहीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।    
    
निर्यात व्यवसारी महासङ्घ नेपालका अध्यक्ष गोविन्द घिमिरेले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनहरूको सम्भावना तथा निर्यातमुखी अर्थतन्त्र प्रवर्द्धनका लागि महासङ्घले गरिरहेका प्रयासबारे जानकारी गराउनुभयो ।    
    
त्यसैगरी, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले नेपाली हस्तकलाको मौलिकता, परम्परागत सीप र ओमान तथा खाडी मुलुकमा रहेका व्यापारिक सम्भावनाबारे जानकारी गराउनुभएको थियो ।    
    
कार्यक्रममा विभिन्न नेपाली उत्पादनको प्रदर्शनीसमेत गरिएको थियो । कार्यक्रममा नेपालबाट गएको उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल, ओमानस्थित व्यवसाय तथा हाइपरमार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रतिनिधि, सञ्चारकर्मी तथा ओमानस्थित नेपाली व्यवसायीसहित ७० भन्दा बढीको सहभागिता रहेको दूतावासले जनाएको छ ।    
–––  

प्रकाशित : २१ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६