खोज–अनुसन्धान

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, अब दुई घण्टामै यात्रा सम्भव



चितवन, २१ साउन 

झण्डै सात वर्षअघि सुरु भएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तिम चरणमा पुगेसँगै यात्रुहरूले ठूलो राहत महसुस गर्न थालेका छन्। निर्माण कार्यका कारण वर्षौंसम्म धुलो, हिलो, जाम र सास्ती खेप्नुपरेको यस सडकमा अहिले यात्रा निकै सहज बनेको छ। हाल नारायणगढदेखि बुटवलसम्मको ११३.३५ किलोमिटर दूरी सामान्यतया दुई घण्टाभित्र पार गर्न सकिने अवस्था बनेको छ।

निजी सवारी चालकहरूका अनुसार सडकको अवस्था सुधारिएपछि कतिपयले एक घण्टा ३० मिनेटदेखि एक घण्टा ५० मिनेटमै यात्रा पूरा गरेका छन्। विगतमा दाउन्ने क्षेत्रमा लामो जामका कारण यात्रुहरूले रातभर सडकमै बिताउनुपर्ने अवस्था रहेकामा अहिले त्यो समस्या हट्दै गएको छ।

चितवनका उद्योगी विमल कालाखेतीले हालै बुटवलबाट नारायणगढसम्मको यात्रा एक घण्टा ३० मिनेटमै पूरा गरेको अनुभव सुनाउँदै सडकमा कुनै अवरोध नभएको बताए। यस्तै, रुपन्देहीका उद्योगी प्रकाश आचार्यले परिवारसहित निजी सवारीमा नारायणगढबाट घर पुग्न एक घण्टा ५० मिनेट मात्र लागेको बताए। उनले विगतमा यही सडक पार गर्न १६ घण्टासम्म लागेको तीतो अनुभव अहिले सडक सुधारसँगै बिर्सन थालेको उल्लेख गरे।

सञ्चारकर्मी प्रकाश ज्ञवालीले पनि यसअघि दसैंको समयमा यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लागेको स्मरण गर्दै अहिले बुटवलबाट नारायणगढ दुई घण्टामै पुग्न सकेको बताए। यातायात व्यवसायीहरूका अनुसार अहिले यात्रु चढाउँदै–ओराल्दै जाँदा समेत करिब तीन घण्टाभित्र गन्तव्य पुग्न सकिने भएको छ।

नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार आयोजनाको करिब ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। हाल सडक सुरक्षा, नाली जडान तथा केही साना संरचनाको काम मात्र बाँकी रहेको उनले जानकारी दिए।

करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यो आयोजना एसियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानीमा निर्माण भइरहेको हो। निर्माणको जिम्मा चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले पाएको छ। २०७५ चैत ८ गतेदेखि सुरु भएको आयोजना प्रारम्भिक लक्ष्यअनुसार ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि विभिन्न कारणले पटक–पटक म्याद थपिएको थियो।

सडक विस्तारअन्तर्गत नारायणगढ–बुटवल सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिएको छ भने बजार क्षेत्रका २८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गरिएको छ। आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्गमा यात्रा थप सुरक्षित, सहज र द्रुत हुने अपेक्षा गरिएको छ।

प्रकाशित : २१ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६