प्रेसपाटी डेक्स
कपिलवस्तु ५ असार
कपिलवस्तुको मध्यभागमा अवस्थित बुद्धभूमि नगरपालिका पछिल्लो समय सुशासन, पारदर्शिता, संस्थागत क्षमता अभिवृद्धि र सेवा प्रवाह सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै गएको देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा प्रतिवेदनले नगरपालिकाले प्रशासनिक सुधार, वित्तीय अनुशासन, जनउत्तरदायित्व र विपद् व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको तथ्य उजागर गरेको छ।
नगर प्रमुख केशव श्रेष्ठको नेतृत्वमा नगरपालिकाले स्थानीय सरकार सञ्चालनका आधारभूत मापदण्डहरूलाई संस्थागत गर्दै नागरिकमैत्री शासन प्रणाली विकासतर्फ ठोस कदम चालेको विश्लेषण गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा निर्धारित तीनवटै सार्वजनिक सुनुवाइ कार्यक्रम समयमै सम्पन्न हुनु स्थानीय सरकारको पारदर्शिता र जनउत्तरदायित्वप्रतिको प्रतिबद्धताको उदाहरण बनेको छ। सार्वजनिक सुनुवाइले नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नुका साथै सेवा प्रवाहका कमीकमजोरी पहिचान गरी सुधारका आधार तयार गरेको देखिन्छ।
स्थानीय शासन विज्ञहरूका अनुसार नियमित सार्वजनिक सुनुवाइले नागरिकको विश्वास बढाउने र स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्दछ।
बुद्धभूमि नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा) कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेर नयाँ उदाहरण प्रस्तुत गरेको छ। अझ महत्वपूर्ण विषय , आर्थिक वर्ष २०७९/०८० मा ८१ अंक प्राप्त गरेको नगरपालिका आर्थिक वर्ष २०८०/०८१ मा ८६ अंक प्राप्त गर्न सफल भएको थियो ।
यो सुधारले नगरपालिकाको योजना तर्जुमा, कार्यान्वयन, वित्तीय व्यवस्थापन, सुशासन तथा सेवा प्रवाहका सूचकहरूमा निरन्तर सुधार भइरहेको संकेत गर्दछ। पाँच अंकको वृद्धिले संस्थागत परिपक्वता र कार्यसम्पादन क्षमतामा उल्लेखनीय प्रगति भएको देखाउँछ।
वित्तीय जोखिम मूल्याङ्कनतर्फ पनि बुद्धभूमिले सकारात्मक उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा ७२.५ अंक प्राप्त गरेको नगरपालिका आर्थिक वर्ष २०८०/०८१ मा ८१ अंकमा पुगेको थियो ।
यसले नगरपालिकाले वित्तीय पारदर्शिता, लेखा व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली र सार्वजनिक स्रोतको उपयोगमा सुधार ल्याएको संकेत गर्दछ। स्थानीय तहको दिगो विकासका लागि वित्तीय अनुशासन महत्वपूर्ण आधारका रुपमा लिने गरिन्छ ।
नियामक निकायहरूमा दर्ता भएका उजुरीहरू मध्ये २५ वटा उजुरीमा नगरपालिकाले आवश्यक जवाफ प्रदान गरेको छ। यसले प्रशासनिक जवाफदेहिता र कानुनी दायित्वप्रति नगरपालिकाको संवेदनशीलता झल्काउँछ।
यद्यपि १० वटा उजुरी तामेलीमा गएको तथ्यले उजुरी व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ। विज्ञहरूका अनुसार उजुरी समाधान प्रणालीलाई थप सुदृढ बनाउनु स्थानीय सरकारको विश्वसनीयता बढाउने महत्वपूर्ण आधार हो।
बुद्धभूमि नगरपालिका विपद् व्यवस्थापनका क्षेत्रमा पनि सक्रिय देखिएको छ। शीतलहरबाट प्रभावित नागरिकको संरक्षणका लागि दाउरा तथा कम्बल वितरण गरिएको छ भने डढेलो तथा आगजनी नियन्त्रणका लागि वारुण यन्त्र खरिद गरी सुरक्षा संयन्त्रसँग सहकार्यमा व्यवस्थापन गरिएको छ।
विशेष गरी श्री शमशेर दल गण गोरुसिंगे सँगको सहकार्यले विपद् प्रतिकार्यमा अन्तरनिकाय समन्वयको राम्रो अभ्यास स्थापित गरेको छ। यसले भविष्यमा हुने प्राकृतिक तथा मानव सिर्जित विपद्का जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिका, सबै वडा कार्यालय तथा सम्पूर्ण विद्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउनु बुद्धभूमिको डिजिटल रूपान्तरण यात्राको महत्वपूर्ण उपलब्धि हो।
विद्युतीय हाजिरी प्रणालीले कर्मचारी तथा शिक्षकको नियमितता, कार्य अनुशासन र सेवा प्रवाहको प्रभावकारितामा सुधार ल्याएको छ। यसले मानव संसाधन व्यवस्थापनलाई थप पारदर्शी र परिणाममुखी बनाएको विश्लेषण गरिएको छ।
नगरपालिकाले संगठन तथा व्यवस्थापन (ओ एन एम) सर्वेक्षणको कार्यलाई पनि अगाडि बढाएको छ। यसले आवश्यक जनशक्ति व्यवस्थापन, कार्य विभाजन, जिम्मेवारी निर्धारण तथा प्रशासनिक संरचनालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
स्थानीय सरकार सञ्चालनका क्रममा देखिएका संरचनागत चुनौती समाधान गर्न यस्तो अध्ययनले महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।
पहाडिया मूलका समुदाय, मधेशी तथा आदिवासी थारु समुदायको साझा बसोबास रहेको बुद्धभूमि नगरपालिका सामाजिक विविधतायुक्त क्षेत्रका रूपमा परिचित छ। यस्तो बहुसांस्कृतिक परिवेशमा सुशासन, पारदर्शिता र समावेशी विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नु नगरपालिकाको अर्को सकारात्मक पक्षका रूपमा देखिएको छ।
गत आर्थिक वर्षमा सम्पन्न कार्यहरूको समग्र विश्लेषण गर्दा बुद्धभूमि नगरपालिका सुशासन, संस्थागत क्षमता विकास, वित्तीय अनुशासन, डिजिटल प्रशासन र विपद् व्यवस्थापनका क्षेत्रमा क्रमशः सबल बन्दै गएको देखिन्छ। क्षमता मूल्याङ्कन र वित्तीय जोखिम मूल्याङ्कनमा सुधार, सार्वजनिक सुनुवाइको नियमितता तथा डिजिटल प्रणालीको विस्तारले स्थानीय सरकारलाई नागरिकप्रति थप उत्तरदायी र प्रभावकारी बनाएको छ।
स्थानीय तहको सफलताको मापन भौतिक पूर्वाधार निर्माणबाट मात्र नभइ , संस्थागत क्षमता, पारदर्शिता र नागरिक विश्वासबाट पनि हुने भएकाले बुद्धभूमिका यी उपलब्धिहरू दीर्घकालीन सुशासनको आधारशिला बन्न सक्ने शुसानका जानकारहरु बताउन्छन् ।









प्रतिक्रिया