बाणगङ्गा, कपिलवस्तु ९ असार
बाणगङ्गा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले उत्पादन, रोजगारी, सुशासन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेको छ। “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा” भन्ने मूल नारासहित ल्याइएको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै समृद्ध नगर निर्माणको स्पष्ट आधार प्रस्तुत गरेको छ।
कुल १ अर्ब ८९ करोड ९२ लाख ७३ हजार रुपैयाँको अनुमानित स्रोत परिचालन गर्ने लक्ष्यसहित नगरपालिकाले आगामी बजेटलाई उत्पादनमुखी, परिणाममुखी र नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी अधुरा आयोजना सम्पन्न गर्ने, कृषि आधुनिकीकरण, युवा स्वरोजगार, स्वास्थ्य सेवाको विस्तार, डिजिटल शिक्षा र खानेपानी पहुँचलाई प्राथमिकतामा राख्ने नीतिले गरेको छ।
नीतिमा सञ्चार क्षेत्रलाई विकासको साझेदारका रूपमा स्वीकार गरिनु सकारात्मक पक्ष मानिएको छ। स्थानीय सञ्चारमाध्यमले विकास निर्माण, सुशासन, पर्यटन प्रवद्र्धन र नागरिक सचेतनामा खेलेको भूमिकालाई मध्यनजर गर्दै आगामी बजेटमा स्थानीय मिडियाको संस्थागत सुदृढीकरण, सूचना प्रवाह र सार्वजनिक सूचना अभियानका लागि पर्याप्त बजेट व्यवस्था हुनुपर्ने सरोकारवालाहरुको अपेक्षा रहेको छ। आर्थिक संकटका कारण स्थानीय सञ्चारमाध्यमहरू चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला मिडिया मैत्री बजेटले लोकतान्त्रिक उत्तरदायित्व र पारदर्शिता प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ।
त्यसैगरी सहकारी क्षेत्रलाई उत्पादन, उद्यमशीलता र रोजगारीसँग जोड्ने नीतिले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहकारीको बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, निष्क्रिय सहकारी सुधार गर्ने तथा डिजिटल प्रविधिसँग जोड्ने कार्यक्रमले तीन खम्बे अर्थतन्त्रलाई थप बलियो बनाउने देखिन्छ।
स्थानीयवासीको अपेक्षा भनेको बजेट उत्पादन, रोजगार सिर्जना र सेवाको गुणस्तर सुधारमा केन्द्रित होस् भन्ने रहेको छ। विज्ञहरूले पनि पूर्वाधार निर्माणसँगै त्यसको दीगो व्यवस्थापन, कृषि र उद्योग प्रवद्र्धन तथा सुशासनका क्षेत्रमा ठोस लगानी आवश्यक रहेको बताएका छन्।
यदि आगामी बजेटले नीति तथा कार्यक्रममा उल्लेखित प्राथमिकताहरूलाई व्यवहारमा उतार्दै उत्पादन, सुशासन, सञ्चार, सहकारी र जनजीविकासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा प्रभावकारी लगानी गर्न सकेमा बाणगङ्गा आत्मनिर्भर र नमुना नगरपालिकाको रूपमा स्थापित हुने आधार अझ मजबुत बन्ने देखिन्छ।









प्रतिक्रिया