चितवन, २६ असार
नेपाली व्यवसायीहरूलाई अन्तरराष्ट्रिय बजार विस्तार गर्न आवश्यक पुँजी तयारी, बजार रणनीति तथा कृत्रिम बद्धिमता (एआई) को व्यावहारिक प्रयोगबारे छलफल गरिएको छ । अमेरिकी दूतावास नेपाल र साझेदार संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा एआईमार्फत नेपाली उद्यमी सशक्तीकरणका विषयमा छलफल भएको हो । अमेरिकी दूतावास नेपालको सहयोगमा इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त एडभाइजरीसँगको साझेदारीमा ‘सिइओ डायलग’ नामक तेस्रो संस्करणको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली व्यवसायीहरूलाई अन्तरराष्ट्रिय बजार विस्तार गर्न आवश्यक पुँजीको तयारी, बजार रणनीति तथा एआईको व्यावहारिक प्रयोगबारे छलफल भएको थियो । यसअघि पोखरा र भैरहवामा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ । कार्यक्रममा फ्यूजम्यासिन्स (यो एक प्रमुख एआईसम्बन्धी प्रतिभा र सफ्टवेयर समाधान प्रदायक कम्पनी हो) का प्रबन्ध निर्देशक पाराग श्रेष्ठले एआईको युगमा नेपाली व्यवसायलाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्ने रणनीति, बजारका अवसर पहिचान, माग प्रमाणीकरण, उत्पादन स्थानीयकरण, बजार प्रवेशका प्रभावकारी उपाय तथा लगानीकर्तालाई आकर्षित गर्ने विश्वसनीय व्यवसाय निर्माणका विषयमा प्रकाश पार्नुभयो । सो अवसरमा फ्यूजम्यासिन्सका ‘एआई एजुकेसन लिड’ राजेश शिख्राकरले कृषि, वित्त, ग्राहक सेवा, सञ्चालन व्यवस्थापन, पर्यटन तथा सेवालगायत विभिन्न क्षेत्रमा एआईको व्यावहारिक प्रयोगबारे सहभागीलाई उपयोगी उदाहरणसहित जानकारी प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्तरराष्ट्रिय बजार विस्तारका लागि आवश्यक कानुनी तथा नीतिगत पक्ष, विश्वव्यापी बजार विस्तारका व्यावहारिक उपकरणहरू तथा नेपाली कम्पनीहरूबाट लगानीकर्ताले अपेक्षा गर्ने तयारीबारे जानकारी प्रस्तुत गरिएको थियो । कार्यक्रमले एआई विशेषज्ञ, उद्यमी, लगानीकर्ता तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याई नेपाली व्यवसायको अन्तरराष्ट्रिय बजार विस्तारका सम्भावना, एआईको प्रभावकारी प्रयोग तथा उद्यमशीलता पारिस्थितिकी प्रणालीका चुनौती र अवसरका बारेमा संवाद गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन् । चितवन र आसपासका जिल्लाका ६० जना युवा उद्यमी, नवप्रवर्तक, व्यवसाय सञ्चालक, लगानीकर्ता तथा उद्यमशीलता क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो । —










प्रतिक्रिया