काठमाडौं, २९ असार
नेपाल मिडिया सोसाइटीले विभिन्न सञ्चारगृह अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोसाइटीले यस्तो गतिविधिले समाचार संकलन, प्रकाशन तथा प्रसारणमा अवरोध पु¥याउनुका साथै सञ्चारकर्मीमा त्रासको वातावरण सिर्जना गरेको जनाएको छ।
मिति २०८३ असार २९ गते बिहान करिब ७ बजे काठमाडौंको तीनकुनेस्थित कान्तिपुर दैनिक तथा कान्तिपुर टेलिभिजन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि रहस्यमय ढंगले निजी सवारी साधन पार्किङ गरी सञ्चार संस्थालाई असहज बनाउने प्रयास भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल मिडिया सोसाइटीले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै, सञ्चार संस्थालाई आतंकित पार्ने वा प्रेस स्वतन्त्रतामा असर पुग्ने कुनै पनि गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। प्रेस स्वतन्त्रता लोकतान्त्रिक समाजको आधार भएकाले सञ्चार माथि हुने कुनै पनि प्रकारको दबाब वा त्रास अस्वीकार्य हुने सोसाइटीको धारणा छ।











प्रतिक्रिया