काठमाडौँ, ३० असार
प्रतिनिधिसभाको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरूले निर्वाचन क्षेत्रसँग सम्बन्धित घटाक्रमसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद बुद्धिप्रसाद पन्तले पथलैया–वीरगन्ज करिडोरमा सञ्चालित उद्योगबाट निस्केका फोहरमैला सिर्सिया नदीमा सोझै मिलाउँदा नदी प्रदूषित भएकामा तीनवटै सरकार गम्भीर नभएको भनी दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सिर्सिया नदी सरसफाइ र संरक्षणको विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले घोषणापत्रमा चुनावी नारा समेट्नुबाहेक केही काम गरेनन् । सो नदीमा फोहर पानी मिसाउने काम रोकिनुपर्यो । धार्मिक महत्व बोकेको सिर्सिया नदीको संरक्षणमा सम्बद्ध सबैसँग अनुरोध छ ।” सांसद बलावती शर्माले सुकुमवासी समस्या र गणेश नेपालीको आत्मदाहपछि मृत्यु भएको घटनालाई विषयान्तर नगरी गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद वासना थापाले रोजगारीका क्रममा विदेश गई सन् २०२५ देखि बेपत्ता भएका दैलेख जिल्लाका ढुङ्गेश्वरी गाउँपालिका–२ लाकुरीका स्थानीय युवा प्रकाश विष्टको खोजी गरी घटनाका बारेमा जानकारी गराउन माग गर्नुभयो । सांसद विदुषी राणाले ‘राइडिङ सेयरिङ’मा आबद्ध भई सेवाप्रवाह गर्दै आइरहेका युवालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग गर्नुभयो । सांसद विश्वराज पोखरेलले वैदेशिक रोजगारीमा जाने नेपाली युवा ठगी, श्रम शोषणबाट पीडितलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बुद्धरत्न महर्जनले ललितपुर बडिखेलका जनताले खानेपानीको अभाव खेप्दै आइरहेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भरतबहादुर खड्काले डोटी जिल्लाको सायल गाउँपालिका–१ मा अविरल वर्षाको कारण असुरक्षित अवस्थामा जीवन बिताइरहेका स्थानीय सर्वसाधारणको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दै केही आम सञ्चारमाध्यमको भवन र कांग्रेस सभापतिको निवास अगडि गाडी रोकेको घटनाका विषयमा जानकारी गराउन माग गर्नुभयो । सांसद भूमिका लिम्बू सुब्बाले हरेक वर्ष वर्षायाम सुरु भएसँगै अत्यावश्यक वस्तुको अभाव हुने गरेको विषयमा सरकारको ध्यानाकर्षण गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन अनुरोध गर्नुभयो । सांसद रञ्जु न्यौपानेले काठमाडौँ क्षेत्र नं १ सहित जिल्लाभरि नै खानेपानीको चरम अभाव भएको बताउँदै त्यसतर्फ ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो । सांसद रमेश मल्लले सल्यानमा विद्युतीकरण र सेवा विस्तार नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताउनुभयो । सांसद रमेशकुमार सापकोटाले कर्णाली प्रदेशका जनताको स्वास्थ्य अवस्था, एम्बुलेन्स सुविधा तथा सडक बाटोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रमेश प्रसाईँले काठमाडौँमा जथाभावी घरभाडा उठाउने गरेको बताउँदै बसभाडा तोकिएजस्तै वैज्ञानिक एवं वस्तुनिष्ट ढङ्गबाट घरभाडा तोकिनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद राजीव खत्रीले नयाँ सवारीचालक अनुमतिपत्र लिन वा वर्ग थप गर्न स्वास्थ्य परीक्षण अनिवार्य भएको भन्ने नियमलाई टेकेर लुटको धन्दा सञ्चालन हुँदै आइरहेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो । सासंद रत्नकुमारी थापाले अछामका सडक र त्यहाँ निर्माण हुने भनिएको बेतन कर्णालीलगायतका पूर्वाधार निर्माण नहुँदा सर्वसाधारण मुग्लान र खाडीतर्फ पलायन भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रचना खतिवडा खत्रीले ठूलो जनाधारसहित बनेको सरकार केही काम गर्न नसकी गतिहीन अवस्थामा पुगेको भएको भनी टिप्पणी गर्नुभयो । सांसद रजनी श्रेष्ठले अझै पनि इलामका माई नगरपालिका, माङसेवुङ गाउँपालिकाका जनता नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन ११० किलोमिटरको यात्रा गरी सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई बुझी नजिकै इलाका प्रशासन कार्यालय सञ्चालन गर्न माग गर्नुभयो । सांसद राधिका रम्तेलले पानी परेको समयमा ‘राइडिङ सेयरिङ एप्स’मा मनपरी भाडा असुल्ने क्रम बढेकाले आवश्यक व्यवस्थासहित प्रभावकारी रूपमा अनुगमन गरी आम जनतालाई राहत दिन माग गर्नुभयो । सांसद राम लामाले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने रणनीतिबमोजिम आवश्यक पहल गरी नेपाललाई लाभान्वित तुल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद रामाकान्त चौरसियाले प्रसौनी छोटी भन्सार सञ्चालनमा ल्याउनका लागि आवश्यक पहलकदमी होस् भन्नुभयो । आजको बैठकमा सांसद मनिष खनाल, महेन्द्रबहादुर शाही, मोहमद फिदोस आलम, यज्ञबहादुर बोगटी, रीना उप्रेती, रीमा विश्वकर्मा, रेनुका काउँछा, उमेश रञ्जित, मदनकुष्ण श्रेष्ठ, मधुकुमार चौलागार्इँ, मनमाया विकलगायतले रासायनिक मल, बजार महँगी, रोजगारीलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । –––
Powered By Orson Infotech×
A news of type Image AP uploaded










प्रतिक्रिया