काठमाडौं, असार ३१ —
प्रेस काउन्सिल नेपालले सञ्चार क्षेत्रको उत्तरदायित्व, पत्रकारिताको आचारसंहिता र मिडिया नियमनसम्बन्धी विषयमा कानुन अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। काठमाडौं स्कुल अफ ल का विद्यार्थी सहभागी कार्यक्रममा प्रेस तथा मिडियाको बदलिँदो स्वरूप, नियामक निकायको भूमिका र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका समसामयिक विषयमा छलफल गरिएको थियो।
मंगलबार प्रेस काउन्सिल नेपालको सभाहलमा आयोजित कार्यक्रममा काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले हाल प्रेस काउन्सिलले मुख्य रूपमा प्रेस तथा पत्रकारिताको अनुगमन गर्दै आएको उल्लेख गर्दै भविष्यमा समग्र सञ्चार माध्यमलाई समेट्ने उद्देश्य सहित मिडिया काउन्सिल विधेयक अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले बदलिँदो सञ्चार प्रविधि र डिजिटल मिडियाको विस्तारसँगै प्रभावकारी नियमनका लागि कानुनी तथा संस्थागत संरचनामा सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले प्रेस काउन्सिल नेपालले सञ्चार माध्यम र पत्रकारको आचारसंहिताको अनुगमन गर्नुका साथै सरकारलाई सञ्चार नीतिसम्बन्धी विषयमा परामर्श दिने जिम्मेवारी पनि निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले जिम्मेवार, मर्यादित र विश्वसनीय पत्रकारिताको विकासमा काउन्सिलको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
उपप्रशासकीय अधिकृत रहम तुल्ला मियाले प्रेस काउन्सिलको संगठनात्मक संरचना, महाशाखा तथा शाखाहरूको कार्यक्षेत्र र सेवा प्रवाहबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, आचारसंहिता उजुरी शाखाका अनुगमन अधिकृत महेन्द्रराज सिंहले काउन्सिलमा प्राप्त हुने उजुरीहरूको प्रकृति, प्रवृत्ति तथा समाधान प्रक्रियाबारे सहभागीलाई जानकारी दिनुभयो।
कार्यक्रमको सहजीकरण शाखा अधिकृत गीता पराजुलीले गर्नुभएको थियो। श्रोत प्रेस काउन्सिल नेपाल
अन्तरक्रियाले कानुन अध्ययनरत विद्यार्थीलाई सञ्चार कानुन, पत्रकारिताको आचारसंहिता, प्रेस स्वतन्त्रता र मिडिया उत्तरदायित्वबारे व्यवहारिक जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्। यस्ता कार्यक्रमले भावी कानुन व्यवसायी र सञ्चार क्षेत्रबीचको सहकार्य तथा उत्तरदायी सञ्चार संस्कृतिको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।










प्रतिक्रिया