लक्ष्मण प्रसाद बेल्बासे
कपिलवस्तु, बाणगंगा साउन १३
सामुदायिक वनको चर्चा हुँदा धेरैको मनमा रुख संरक्षण, घाँस–दाउरा व्यवस्थापन र जैविक विविधताको संरक्षण मात्रै आउँछ। तर कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनको भूमिकालाई त्यस सीमाभन्दा निकै माथि उठाउने प्रयास गरेको छ। वनको आम्दानीलाई केवल वनभित्र सीमित नराखी शिक्षा, पूर्वाधार, सुरक्षा, कृषि, खेलकुद, धार्मिक तथा सामाजिक विकाससँग जोड्ने नीति अघि सार्दै समूहले सामुदायिक वनलाई ग्रामीण समृद्धिको प्रभावकारी माध्यम बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।
समूहको २०औँ वार्षिक साधारण सभा तथा नयाँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि पारित गरेको नीति तथा कार्यक्रमले वन संरक्षण र समुदायको समृद्धिलाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको छ। अध्यक्ष दिपक सापकोटाका अनुसार वनबाट प्राप्त स्रोत–साधनलाई जनजीवनको प्रत्यक्ष सुधारमा लगानी गर्ने अवधारणालाई अझ सशक्त बनाइएको छ।

वन जोगाएर मात्रै समृद्धि सम्भव हुँदैन, वनबाट प्राप्त लाभ समुदायसम्म न्यायोचित रूपमा पुग्नुपर्छ भन्ने सोच मधुवनको योजनामा स्पष्ट देखिन्छ। यही सोचका आधारमा टोलस्तरको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। टोल नं. १ र ४ मा सडक, कुलो तथा नहर निर्माण तथा टोल नं. २, ३ र ५ मा यस्ता पूर्वाधार विस्तार गर्ने कार्यक्रमले कृषि उत्पादन वृद्धि, सिँचाइ व्यवस्थापन र स्थानीय आवागमन सहज बनाउने अपेक्षा गरिएको छ। यसले वनको आम्दानीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने सकारात्मक अभ्यासको संकेत दिएको छ।
सुरक्षित समुदाय नै समृद्ध समुदाय हुने मान्यतालाई आत्मसात् गर्दै प्रत्येक टोलमा सिसी क्यामेरा र सडक बत्ती जडान गर्ने योजना पनि उल्लेखनीय छ। ग्रामीण क्षेत्रमा आधुनिक सुरक्षा प्रणाली विस्तार गर्ने यस्तो अभ्यासले चोरी, आपराधिक गतिविधि तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग पुग्नुका साथै नागरिकमा सुरक्षित वातावरणको अनुभूति गराउने विश्वास गरिएको छ।

मधुवन सामुदायिक वनको अर्को महत्वपूर्ण पक्ष शिक्षा क्षेत्रमा देखिएको छ। विद्यालय तथा क्याम्पसका शिक्षकहरूको पारिश्रमिक व्यवस्थापनमा सहयोग गर्ने निर्णयले वनको आम्दानीलाई मानव विकाससँग जोड्ने उदाहरण प्रस्तुत गरेको छ। शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा सक्षम, सचेत र जिम्मेवार नागरिक उत्पादन गर्ने भएकाले यस्तो कार्यक्रम वनको सामाजिक उत्तरदायित्वको सशक्त अभ्यास मान्न सकिन्छ।
समूहले स्थानीय तहसँग लागत साझेदारीमा वन व्यवस्थापन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। साथै खेलकुद प्रवद्र्धन, गौशाला सञ्चालन, मधुवन धाम व्यवस्थापन, खानेपानी तथा कुलो–नहर सञ्चालनमा सहयोग गर्ने कार्यक्रमले सामाजिक, धार्मिक र सांस्कृतिक जीवनलाई समेत सुदृढ बनाउने लक्ष्य लिएको छ। यसले सामुदायिक वन केवल प्राकृतिक स्रोतको संरक्षक मात्र नभई स्थानीय विकासको भरोसायोग्य साझेदार बन्न सक्ने तथ्यलाई पुष्टि गरेको छ।
संस्थागत सुशासनलाई पनि समान प्राथमिकता दिइएको छ। वार्षिक साधारण सभा, योजना तर्जुमा गोष्ठी, वार्षिक समीक्षा, उत्कृष्ट उपभोक्ता तथा कर्मचारी सम्मान, कार्यालय व्यवस्थापन, लेखापरीक्षण, प्रतिवेदन प्रकाशन, प्रचार–प्रसार तथा समन्वयका कार्यक्रमले पारदर्शिता, उत्तरदायित्व र संस्थागत विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सव–डिभिजन वन कार्यालयसँग सहकार्य विस्तार, आवश्यक उपकरण खरिद, कर्मचारी व्यवस्थापन, कार्यालय सौन्दर्यीकरण तथा उपभोक्ता परिचयपत्र व्यवस्थापनजस्ता कार्यक्रमले संस्थालाई अझ व्यवस्थित र उत्तरदायी बनाउने आधार तयार गरेका छन्।
आज जलवायु परिवर्तन, वन विनाश र प्राकृतिक स्रोतको दिगो उपयोग विश्वव्यापी बहसको विषय बनेका बेला मधुवन सामुदायिक वनले प्रस्तुत गरेको अवधारणा अझ सान्दर्भिक देखिन्छ। वन संरक्षणलाई समुदायको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणसँग जोड्ने सोचले सामुदायिक वन अभियानलाई नयाँ उचाइ दिएको छ। वनबाट प्राप्त आम्दानीलाई केवल खर्च गर्ने होइन, समाजको भविष्य निर्माण गर्ने माध्यमका रूपमा उपयोग गर्न सकिन्छ भन्ने उदाहरण मधुवनले प्रस्तुत गरेको छ।
सामुदायिक वनको वास्तविक सफलता रुखको संख्या बढ्नुमा मात्र होइन, त्यही हरियालीबाट नागरिकको जीवनस्तर उकासिनुमा निहित हुन्छ। मधुवन सामुदायिक वनको बहुआयामिक योजना यही दर्शनमा आधारित देखिन्छ। यदि यी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके, यसले वन संरक्षणलाई थप मजबुत बनाउनुका साथै स्थानीय विकासको नयाँ मोडेल स्थापित गर्नेछ। अझ महत्त्वपूर्ण कुरा, यसले देशभरका अन्य सामुदायिक वनहरूलाई पनि वनलाई केवल संरक्षणको विषय होइन, समृद्ध समाज निर्माणको साझा आधारका रूपमा हेर्न प्रेरित गर्नेछ ।










प्रतिक्रिया