काठमाडौँ, २० भदौ
सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु भएको छ । गौरा पर्व मनाउन काठमाडौँ उपत्यकामा रहेका सुदूरपश्चिमेली, कर्णालीवासी तथा अन्य सर्वसाधारणको खुलामञ्चमा उल्लेख्य सहभागिता देखिएको छ । गौराको उल्लाससँगै खुलामञ्चमा परम्परागत पहिरनमा सजिएका युवायुवती तथा वृद्धवृद्धा हात समातेर गोलाकार घेरा बनाइ देउडा खेलिरहेका छन् । देउडा गीत र नृत्यमा सहभागीहरू रमाइरहेका छन् भने उनीहरूको प्रस्तुति हेर्न खुलामञ्चमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । यही शुक्रबारदेखि सुरु देउडा भएको यो पर्व यहाँ आइतबारसम्म चल्नेछ । सुदूरपश्चिम र कर्णालीको मौलिक लोकसंस्कृतिको महत्त्वपूर्ण पहिचानका रूपमा रहेको देउडा गौरा पर्वको प्रमुख आकर्षण मानिन्छ । देउडाका माध्यमबाट विभिन्न सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयलाई गीतका रूपमा प्रस्तुत गर्दै सुखदुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई थप आत्मीय बनाउने गरिन्छ । देउडा खेलमा सहभागी सुदूरपश्चिम घर भई अध्ययनका सिलसिलामा काठमाडौँमा रहनुभएका शमशेर रोकायाले गौरा पर्व आफूहरूका लागि धार्मिक पर्व मात्र नभई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोडिएको पर्व भएको बताउनुभयो । “गौरा भनेको हाम्रो मौलिक पर्व हो । यो पर्व हाम्रा लागि सुखदुःख साटासाट गर्ने र सांस्कृतिक भावना साट्ने माध्यम हो”, उहाँले भन्नुभयो । गौरा पर्वका अवसरमा यस वर्ष काठमाडौँमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासी एकैठाउँमा भेला भएर आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिइरहेका छन् । विशेषगरी युवापुस्ताको देउडा खेलप्रतिको उत्साहले खुलामञ्चमा गौरा पर्वको रौनक थपिएको छ । आज खुलामञ्चमा सुदूरपश्चिम र कर्णालीका युवायुवतीले उत्साहपूर्वक देउडा खेलिरहेका छन् । देउडा हेर्न र सहभागी हुन पुगेका सर्वसाधारणका कारण खुलामञ्चमा निकै चहलपहल देखिएको छ । लामो समयदेखि काठमाडौँमा बस्दै आएका तथा रोजगारी, अध्ययन र विभिन्न पेसा, व्यवसायका सिलसिलामा राजधानीमा रहेका सुदूरपश्चिमेली र कर्णालीवासीका लागि गौरा पर्व आपसमा भेटघाट गर्ने महत्त्वपूर्ण अवसर बनेको छ । डोटीको गड्सेरा घर भई अध्ययनका लागि काठमाडौँ आउनुभएका नवीन सार्कीले गौरा पर्वले राजधानीमा रहेका सुदूरपश्चिमवासीलाई एकैठाउँमा भेला हुने अवसर प्रदान गर्ने बताउनुभयो । “गौरा हाम्रो भेटघाट गराउने तथा सांस्कृतिक र मौलिक पर्व हो । यसलाई हामी आपसमा मिलन गराउने पर्वका रूपमा लिने गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार रोजगारी, अध्ययन तथा विभिन्न कामका कारण आफ्नो जन्मथलोबाट टाढा रहेका व्यक्ति गौरा पर्वका अवसरमा एकैठाउँमा भेला हुँदा गाउँघरको सम्झना ताजा हुनुका साथै आपसी आत्मियता बढ्ने गरेको छ । राजधानीमा रहेका आफन्त, साथीभाइ तथा गाउँठाउँका चिनजानका व्यक्तिसँग भेटघाट हुने भएकाले गौरा पर्वको दिन खुला मञ्चमा ठूलो सङ्ख्यामा मानिस जम्मा हुने गरेका छन् । गौरा पर्व धार्मिक आस्था र सांस्कृतिक परम्परासँग गहिरोसँग जोडिएको पर्व हो । यस पर्वमा व्रतालु महिलाले धार्मिक परम्पराअनुसार धान, साउँ, तिल, अपामार्गलगायत सामग्री प्रयोग गरी गौरा देवी अर्थात् पार्वती र महेश्वर अर्थात् शिवको मूर्ति बनाउने र विधिपूर्वक पूजा गर्ने चलन छ । गौरा पर्वमा बिरुडाको विशेष महत्त्व रहेको छ । पाँच प्रकारका गेडागुडी मास, गहत, गहुँ, केराउ तथा चना/गुराँस मिसाएर बिरुडा बनाउने गरिन्छ । बिरुडालाई प्रसादका रूपमा ग्रहण गर्ने, आफन्त तथा छरछिमेकमा बाँड्ने र पूजाआजापछि टाउकोमा राख्ने परम्परा रहेको महिला खिमादेवी विष्टले जानकारी दिनुभयो । गौरा पर्वका धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै देउडा खेलले पर्वको रौनक बढाउने गरेको छ । देउडामा सहभागी महिला तथा पुरुषले हातमा हात समाएर गोलाकार घेरा बनाउँदै गीत गाउने र ताल मिलाएर नाच्ने गर्छन् । देउडामा प्रेम, संस्कृति, सामाजिक सम्बन्ध, दुःखसुख, गाउँघर तथा समसामयिक विषयसमेत समेटिने भएकाले यसलाई सुदूरपश्चिम र कर्णालीको मौलिक लोकसंस्कृतिको महत्त्वपूर्ण अभिव्यक्तिका रूपमा लिने गरिन्छ । काठमाडौँमा आयोजना हुने गौरा पर्वले राजधानीमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीलाई आफ्नो मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने अवसरसमेत प्रदान गरेको छ । विशेषगरी नयाँ पुस्ताका युवायुवती देउडा खेलमा उत्साहपूर्वक सहभागी हुन थालेपछि आफ्नो भाषा, वेषभूषा, कला, संस्कार र परम्परालाई राजधानीमै निरन्तरता दिने वातावरण बनेको सहभागीको भनाइ छ । गौरा पर्वका अवसरमा परम्परागत पहिरनमा सजिएका महिला तथा पुरुषको उपस्थितिले खुलामञ्च थप आकर्षक बनेको थियो । देउडाको लयमा रमाइरहेका युवायुवती तथा उनीहरूको प्रस्तुति हेर्न पुगेका दर्शकका कारण खुलामञ्चमा दिनभरजसो उत्सवमय वातावरण देखिएको छ । गौरा पर्वले धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जोड्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउने सहभागीको विश्वास छ । काठमाडौँमा रहेका सुदूरपश्चिम र कर्णालीवासीले राजधानीमा सामूहिक रूपमा गौरा मनाउँदा आफ्नो जन्मभूमि, संस्कृति र परम्परासँगको सम्बन्ध अझ प्रगाढ हुने गरेको बताउँछन् । यसरी रोजगारी, अध्ययन र विभिन्न पेसा, व्यवसायका कारण आफ्नो थातथलोबाट टाढा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीका लागि गौरा पर्व केबल धार्मिक अनुष्ठानमा सीमित नभई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै गएको छ । —
Powered By
Orson Infotech










प्रतिक्रिया