कपिलवस्तु १८ भदौं
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले कपिलवस्तु वन पैदावार उद्योग व्यवसाय सङ्घ परिवारले ३ लाख ४६ हजार रुपैयाँ सङ्कलन गरेको छ।
सङ्घ परिवारका पदाधिकारी, सदस्य तथा व्यवसायीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी लुम्बिनी प्रदेश वन पैदावार उद्योग व्यवसाय सङ्घलाई हस्तान्तरण गरिएको काष्ठ ब्यवसायी तिलक गिरीले बताउनु भयो । प्रदेश सङ्घमार्फत रकम केन्द्रीय महासङ्घ हुँदै सम्बन्धित राहत कोषमा जम्मा गरिने जनाइएको छ।
प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा नागरिकले जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा राहत तथा उद्धार अभियानमा निजी क्षेत्र र व्यवसायी समुदायको पनि जिम्मेवारी हुने सन्देश सहित सङ्घले सहयोग रकम जुटाएको जनाएको छ।
सङ्घको यो सहयोगले विपद्को समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउन सहयोग पुग्नुका साथै सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना बलियो बनाउन व्यवसायी समुदायको भूमिका महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।
सङ्घले आगामी दिनमा पनि विपद् तथा सामाजिक सरोकारका विषयमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।












प्रतिक्रिया