ब्रेकिंग न्युज

भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर



ख्वप (भक्तपुर), २० भदौ

भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०५०/५१ देखि नगर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो । नगरपालिकाले पहिलो पटक गैरसार्क राष्ट्रका पर्यटकसँग मात्रै शुल्क उठाउन थालेको थियो । घुम्न आउने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको यो नै नेपालको पहिलो भएको बताइन्छ । यसपछि विस्तारै काठमाडौँ, ललितपुरलगायत ठाउँमा पनि घुम्न आउने विदेशी पर्यटकसँग ती नगरपालिकाहरूले प्रवेश शुल्क उठाउन थालेका थिए । सो अवधिमा ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर घुमेर गएका छन् । आर्थिक वर्ष २०८२/८३ अर्थात् २०८३ असार मसान्तसम्म यी पर्यटकले भक्तपुर भ्रमण गरेको तथ्याङ्क हो । तथ्याङ्कअनुसार चीनसहित सार्क मुलुकबाट १८ लाख ३७ हजार २१८ पर्यटकले भक्तपुर घुमेका छन् । गैरसार्क मुलुकबाट भने ३४ लाख २८ हजार ४६ पर्यटकले यो अवधिमा भक्तपुर भ्रमण गरेका छन् । भक्तपुरको पर्यटनमा पछिल्ला तीनदशकमा उतारचढाव देखिएको छ । विसं २०५०/५१ मा ८७ हजार ३४५, २०५१/५२ मा ९७ मा हजार ७५७, २०५२/५३ मा एक लाख १२ हजार ७४०, २०५३/५४ मा एक लाख १० हजार ८५२ र २०५४/५५ मा एक लाख ५३ हजार २३० पर्यटकले भक्तपुर घुमेर गए । विसं २०५५/५६ मा एक लाख ९७ हजार ८०५, २०५६/५७ मा एक लाख ९७ हजार ८८१, २०५७/०५८ मा एक लाख ८० हजार ५३, २०५८/०५९ मा ९१ हजार ८००, २०५९/०६० मा ८५ हजार १५३, २०६०/६१ मा एक लाख १९ हजार ३९, २०६१/६२ मा ८७ हजार ६०५, २०६२/६३ मा ९२ हजार ३३० र २०६३/६४ मा एक लाख २१ हजार ४३१ ले भक्तपुर घुमे । त्यसपछिका वर्षमा क्रमशः २०७८/७९ मा ५३ हजार ५६०, २०७९/८० मा एक लाख ६७ हजार ६५२, २०८०/८१ मा दुुई लाख ४५ हजार ५९३, २०८१/८२ मा दुुई लाख ४४ हजार ८६८ र पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा दुई लाख २१ हजार ९७६ जना पर्यटक भक्तपुर आएका थिए । यसैले हालसम्म कुल जम्मा ५२ लाख ६५ हजार २६४ जना पर्यटक भक्तपुर भित्रिएका छन् । कुन वर्षमा सबैभन्दा कम पर्यटक ? कोरोनाका कारण आव २०७७/७८ भक्तपुरको पर्यटन इतिहासमै पर्यटक आगमनका हिसाबले सबैभन्दा कमजोर वर्ष बनेको थियो । उक्त वर्ष तीन हजार ११२ पर्यटक भक्तपुर भित्रिए । यो वर्ष गैरसार्क मुलुकबाट एक हजार ३८३ तथा चीनसहित सार्क मुलुकबाट एक हजार ७२९ पर्यटकले मात्रै भक्तपुर भ्रमण गरेका थिए । भक्तपुर नगरपालिकाले गैरसार्क राष्टका पर्यटकसँग २०५० सालदेखि नै प्रवेश शुल्क लिन थालेको थियो भने सार्क राष्ट्र (नेपालीबाहेक)सँग २०५४ सालदेखि प्रवेश शुल्क लिन थालेको थियो । कुन वर्षमा सबैभन्दा बढी पर्यटक ? बत्तिस वर्ष लामो इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पर्यटकले भक्तपुर भ्रमण गरेको वर्ष आव २०७०/७१ हो । उक्त वर्ष एकैवर्षमा दुुई लाख ९० हजार ८९१ जना विदेशी पर्यटकले भक्तपुर टेकेका थिए । चालिस बढी मुलुकका पर्यटकले घुमे भक्तपुर नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म ४० भन्दाबढी मुलुकका पर्यटकले भक्तपुर भ्रमण गरिसकेका छन् । अमेरिका, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, बेलायत, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, नेदरल्यान्ड्स, हङ्गेरी, आइसल्यान्ड, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीजरल्यान्ड, ताइवान, टर्की र थाइल्यान्डलगायत मुलुकबाट पर्यटक भक्तपुर आएका छन् । पछिल्लो समय भक्तपुर नगरपालिकाले विभिन्न स्थानमा मेटलका क्युआर कोडसमेत राखेर पर्यटकलाई आवश्यक सूचना डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । सबैभन्दा बढी भारतीय, त्यसपछि चिनियाँं भक्तपुरको पर्यटन सूचना तथा सेवा केन्द्रका अनुसार भक्तपुर घुम्ने आउनेमा पहिलोमा भारतीय पर्यटक पर्दछन् । दोस्रोमा भने चिनियाँ पर्यटक परेका छन् । गत आव एक वर्षको मात्रै तथ्याङ्कअनुसार ७० हजार ७११ जना भारतीय पर्यटकले भक्तपुरको भ्रमण गरेको थियो । त्यस्तै, चीनबाट ३६ हजार ७८३ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । यसैगरी अमेरिकाका १३ हजार २११, जर्मनीका १० हजार ८०० जना, फ्रान्सका नौ हजार ९८०, इटालीका सात हजार ७३, स्पेनका पाँच हजार ३६२, जापानका छ हजार ७९६, इङ्ल्याण्डका छ हजार, अस्ट्रेलियाका चार हजार ९४६, ताइवानका चार हजार ९५० र हल्यान्डका तीन हजार ७४२ नागरिकले भक्तपुर अवलोकन गरेको थियो । चौध स्थानबाट पर्यटक शुल्क भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकबाट हाल १४ वटा स्थानबाट पर्यटक शुल्क उठाउँदै आएको छ । खौमा, सानो व्यासी, ठूलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल र भार्वाचोमा पर्यटक शुल्क सङ्कलन केन्द्र सञ्चालनमा छन् । थप एउटा काउन्टर निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर प्रवेश गर्ने सम्पूर्ण नाकाहरूमा एउटाएउटा काउण्ट राखेर नगर प्रवेश गर्ने पर्यटकहरूसँंग शुल्क उठाउने गर्दछ । कति छ प्रवेश शुल्क ? भक्तपुर नगरपालिकाले गैरसार्क मुलुकका पर्यटकका लागि हाल प्रतिव्यक्ति दुई हजार रूपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । सुरुमा विसं २०५० साउन ६ गते प्रतिव्यक्ति ५० रूपैयाँबाट प्रवेश शुल्क लिन सुरु गरिएको थियो । त्यसपछि २०५३ साउन १ गते ३०० रूपैयाँ, २०५७ साउन १ गते ३७५ रूपैयाँ, २०५७ पुस १७ गते ७५० रूपैयाँ, २०६७ पुस १७ गते एक हजार १०० रूपैयाँ, २०७० पुस १७ गते एक हजार ५०० रूपैयाँ र २०७९ पुस १७ गते एक हजार ८०० रूपैयाँ प्रवेश शुल्क कायम गरिएको थियो । विसं २०८२ साउनदेखि गैरसार्क पर्यटकका लागि प्रवेश शुल्क दुई हजार रूपैयाँ कायम गरिएको हो । चीनसहित सार्क पर्यटकको शुल्क चीनसहित सार्क मुलुकका पर्यटकका लागि विसं २०५४ पुस १७ गतेदेखि प्रवेश शुल्क लिन थालेको थियो । पहिलो पटक नगरपालिकाले प्रतिव्यक्ति तीन रूपैयाँ प्रवेश शुल्क लिन सुरु गरेको थियो । त्यसपछि त्यसलाई २०५७ पुस १७ गतेदेखि ५० रूपैयाँ, २०६७ देखि १०० रूपैयाँ र २०७१ साउन १ गतेदेखि ५०० रूपैयाँ प्रवेश शुल्क लिँदै आएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । छ वटा भाषामा पर्यटन सामग्री नगरपालिकाले पर्यटकले टिकट काटेपछि जानकारीमूलक प्रतिटिकट एउटा एउटा सूचना सामग्री अर्थात् ब्रोसर प्रदान गर्दछ । टिकट काट्ने काउन्टरबाटै पर्यटकलाई ती सूचना सामग्री प्रदान गरिन्छ । सूचना सामग्री आफनै भाषामा होस् भनेर नगरपालिकाले विभिन्न ६ वटा भाषाहरूमा सामाग्रीहरू प्रकाशन गरेका छन् । अमेरिका, चीन, जर्मनी, जापान, फ्रान्स र स्पेनका पर्यटकलाई लक्षित गरी छ वटा भाषामा नक्सासहितको पर्यटन ब्रोसर उपलब्ध गराउँदै आएको छ । यी सबै ब्रोसरमा रहेका सूचनाहरू भने एउटै हुन् । मात्रै भाषा फरक हो । के हुँंदैछ भक्तपुरमा प्रवेश शुल्कबाट ? भक्तपुर नगरपालिकाको आन्तरिक स्रोतमध्ये एउटा प्रमुख स्रोत हो पर्यटक शुल्क । त्यसकारण शुल्क लिएर भक्तपुरमा के कामका लागि प्रयोग गरियो बजेट भन्ने पनि प्रश्न उठ्दै आएको छ । भक्तपुर नगरपालिका पर्यटन सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको विकासको मुख्य आधार नै पर्यटक भएको बताउनुहुन्छ । यही शुल्कबाट यहाँ धेरै काम हुन पाएको उहाँ सुनाउनुहुन्छ । भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्षसमेत रहनुभएका लासिवा भन्नुहुन्छ, यही शुल्कबाट भक्तपुर नगरपालिकाले इन्जिनियरिङ लगायतका आधा दर्जन बढी कलेज सञ्चालन गरिराखेको छ, अस्पताल सञ्चालन गरिराखेको छ । यसबाहेक सरसफाइ, सम्पदा संरक्षणमा पनि यो पैसा प्रयोग भइरहेको उहाँ बताउनुहुन्छ । यसबाहेक पनि नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क र पर्यटक शौचालय सञ्चालनमा ल्याएको छ । पर्यटक सूचना केन्द्रमार्फत विभिन्न छ भाषामा नक्सासहितको ब्रोसर उपलब्ध गराउने गरिएको छ । त्यस्तै, निःशुल्क इन्टरनेटसहित कम्प्युटर, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्विलचेयर, लगेज राख्ने कोठा, मोबाइल चार्ज गर्ने सुविधा तथा पत्रपत्रिकासहित विश्रामस्थलको व्यवस्था गरिएको छ । नगरपालिकाले स्थानीय पथप्रदर्शक परिचालन समिति गठन गरी स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिम दिनुका साथै आवश्यक व्यवस्थापनसमेत गर्दै आएको पनि जनाएको छ । विदेशीभन्दा पाँचगुणा नेपाली भक्तपुरमा जति विदेशी पर्यटक घुम्न आउछन् तीभन्दा सालाखाला सामान्यतया पाँचगुणा बढी आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने अनुमान छ । विदेशी पर्यटकसँग शुल्क उठाउने भक्तपुरका धेरै काउन्टरमध्ये मुख्य अर्थात् भक्तपुर प्रवेश गर्ने मुख्य काउन्टर खौमा काउन्टर हो, जहाँबाट विदेशी मात्रै होइन, स्वदेशी पर्यटक पनि सबैभन्दा बढी प्रवेश गर्छन् । सो काउन्टरमा बस्ने एक जना कर्मचारी मुरज दिदीयाले खौमा प्रवेशद्वारबाट मात्रै दैनिक टिकट काटेर जाने विदेशी पर्यटकभन्दा पाँचगुणा स्वदेशी नेपाली आन्तरिक पर्यटक घुम्न आएको अनुमान गर्नुहुन्छ । “स्वदेशी पर्यटक सामान्यतया दैनिक पाँच हजार बढी आउने अनुमान हामी गर्छौं”, उहाँले भन्नुुभयो, “शनिबार, अन्य बिदाका दिनमा त यहाँ तेब्बर चौबर हुन्छ ।” साथै गाईजात्रालगायत विभिन्न जात्रा पर्वका बेला अझ अत्यधिक आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने गरेको अनुभव उहाँंले बताउनुुभयो । अहिले काठमाडौँ उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्कुलका विद्यार्थीलाई पनि स्कुलस्कुलले भक्तपुर घुमाउने ल्याउने गरेको उहाँले सुनाउनुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : २० भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६