ब्रेकिंग न्युज

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार



मोरङ, २० भदौ

भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ । खोजीकार्य जारी रहे पनि फेला नपरेपछि, हिन्दू धार्मिक परम्पराअनुसार परिवारजनले अनोजको ‘कुशको शव’ बनाएर अन्तिम संस्कार गरेका छन् । मोरङको बेलबारी वडा नं ९ (नलबारीका) का राजेन्द्रप्रसाद धमला र आमा नैनाकला कट्टेल धमलाका कान्छा छोरा अनोज भर्खर २३ वर्ष पुग्दै हुनुहुन्यो । भोटेकोशीको बाढीले जिवित रहन दिएन । घरनजिकै नलबारी चोकमा पसल चलाएर परिवारको गुजारा चलाइरहेका बुबा र क्यान्सर रोगसँग लडिरहेकी आमाका लागि अनोज र उहाँका दाजु अनिस ठूलो आधार हुनुहुन्थ्यो । दाजु अनिस स्थानीय माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्यापन गराउनुहुन्छ । स्थानीय शिव शङ्कर श्रेष्ठका अनुसार अनोज एक मेधावी र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएका युवा हुनुहुन्थ्यो । कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्न उहाँले इटहरीमा बसेर कडा मेहनतका साथ पढाइ गर्नुभयो । भाषा परीक्षा उत्तीर्ण पनि हुनुभयो, तर कोरियाले मागेको सङ्ख्याभन्दा पास हुने परीक्षार्थीको सङ्ख्या धेरै भएपछि उहाँको कोरिया जाने सपना अड्किएको थियो । तत्कालै कोरिया जाने ढोका नखुलेपछि उहाँ आफ्नै मामा सोमनाथ कट्टेलको ‘सम्राट टुर एण्ड ट्राभल्स’मा काम गर्न थाल्नुभयो । सोही क्रममा पर्यटकीय टोलीलाई धार्मिक तथा पर्यटकीयस्थल घुमाउने क्रममा यसपटक उहाँ ‘मानसरोवर’ जाँदै हुनुहुन्थ्यो । तर मानसरोवरतर्फको यात्रामा निस्किएकै बेला रसुवा बाढीले उहाँहरूलाई बडार्‍यो । “पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा अप्रत्याशित घटना घट्न पुग्यो”, अनोजका सानोबुबा राजन घिमिरेले भावुक हुँदै भन्नुभयो, “हामीले साह्रै इमानदार र क्षमतावान् छोरो गुमाउनुपर्‍यो, यसले सिङ्गो परिवार र आफन्तलाई कहिल्यै नमेटिने गहिरो चोट पुर्‍याएको छ ।” बाढीमा बेपत्ता भएका सराटनगर–७ निवासी मामा सोमनाथ कट्टेलको बुधबार नै कुशको शव बनाएर दाहसंस्कार गरिसकिएको छ भने भान्जा अनोजको भौतिक शरीर फेला नपरेपछि शुक्रबार कुशको प्रतीक बनाएर लक्ष्मीमार्गको स्थानीय घाटमा दाहसंस्कार गरिएको हो । विपद् परेको धमला परिवारका लागि कहालीलाग्दो रह्यो । बाढीलगत्तै अनोज बेपत्ता भएको खबर आए पनि क्यान्सर पीडित आमा र वृद्ध बुबालाई त्यो आघात सहन गाह्रो हुन्छ भनेर दाजु अनिसले मन दह्रो बनाएर साँचो कुरा लुकाउनुभएको थियो । “मानसरोवर जाने क्रममा बाढी आएकाले भाइ पर्यटकसँगै चीनतर्फ प्रवेश गरिसकेको छ, उसलाई केही भएको छैन, नेटवर्क नभएर सम्पर्क मात्र नभएको हो”, भनेर अनिसले एक सातासम्म बुबाआमालाई सान्त्वना दिइरहनुभयो । तर समय बित्दै जाँदा र भाइको कुनै अत्तोपत्तो नपाउँदा परिवारको पीडा र शङ्का झन् बढेर गयो । अन्त्यमा, अनिसले आँसु थाम्न नसकेर बुबाआमालाई भाइ बाढीमा फेला नपरेको कठोर सत्य सुनाउन बाध्य बन्नुपर्‍र्यो । दश दिनसम्म छोरा कतैबाट आउला भन्ने आशामा छटपटाएका आमाबाबुले अन्ततः कुशको प्रतीकलाई नै छोरा मानेर चित्त बुझाउनुपर्‍र्यो ।

प्रकाशित : २० भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६