बुद्धभूमि २२ भदौं
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० स्थित धनकौली स्वास्थ्य चौकीमा पहिलोपटक अल्ट्रासाउन्ड (ग्क्न्) सेवा सञ्चालनमा आउने भएको छ। स्वास्थ्य चौकीका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएपछि सेवा सञ्चालनको तयारी अघि बढाइएको बताइएको छ ।
वडा अध्यक्ष सन्दीप पाण्डेका अनुसार केही दिन भित्रै स्वास्थ्य चौकीबाट अल्ट्रासाउन्ड सेवा नियमित रूपमा सुरु गरिनेछ। विशेषगरी गर्भवती महिलाको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राख्दै सामान्य प्रकृतिका अल्ट्रासाउन्ड सम्बन्धी सेवा समेत उपलब्ध गराउने तयारी गरिएको उहाँले बताउनु भयो।
अल्ट्रा साउन्ड सेवा स्थानीय स्वास्थ्य चौकीमै उपलब्ध भएपछि गर्भवती महिलासहित स्थानीय नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि टाढाका अस्पताल तथा स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
वडा अध्यक्ष पाण्डेले अल्ट्रासाउन्ड सेवा निःशुल्क रूपमा उपलब्ध गराइने जानकारी दिनुभयो। विशेषगरी आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका गर्भवती महिलाले सहज र समयमै स्वास्थ्य परीक्षण गराउन सक्ने भएकाले यो सेवा स्थानीयका लागि महत्वपूर्ण हुने उहाँको भनाइ छ।
स्वास्थ्य चौकीमै आवश्यक प्रविधि र सेवा उपलब्ध हुन थालेसँगै मातृ तथा शिशु स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया