गण्डकी

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी



कास्की, ८ कात्तिक

पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले विसं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा दुई लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेटेर दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको हो । खोप कार्यक्रमबाट खोरेत, पिपिआर, लम्पी स्किन, रेबिजलगायत पशुमा लाग्ने रोगको जोखिम न्यूनीकरणमा सहयोग पुगेको कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले जानकारी दिनुभयो । “पशुमा महामारीजन्य रोगको सङ्क्रमण नियन्त्रण गर्न समयमै खोप लगाउनु महत्वपूर्ण हुन्छ । नियमित खोप कार्यक्रमले पशुमा रोग लाग्ने र फैलिने जोखिम घटाउनाका साथै पशुको स्वास्थ्य संरक्षण, उत्पादन तथा उत्पादकत्व वृद्धि र पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोग नियन्त्रणमा पनि सहयोग पुगेको छ । पूर्ण खोप कार्यक्रमपछि विगतका तुलनामा खोरेत लगायतका महामारीजन्य रोग धेरै नै कम भएको छ,” कार्यालय प्रमुख डा न्यौपानेले भन्नुभयो । कार्यालयका अनुसार गत आवमा खोरेत रोगविरुद्ध ८० हजार ६२६, पिपिआरविरुद्ध ८७ हजार ४७२, लम्पी स्किनविरुद्ध ३२ हजार ३२७, रेबिजविरुद्ध आठ हजार ४२९, क्लासिकल स्वाइन फिभरविरुद्ध दुई हजार ५३ र डिएचपिपिएल खोप एक हजार ४०० मात्रा लगाइएको थियो । पूर्ण खोप कार्यक्रमका लागि गत वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरिएकामा रु एक करोड ३४ लाख ९२ हजार ७५० खर्च भएको थियो । खोप कार्यक्रम सञ्चालनका लागि जिल्लामा १७२ जना खोपकर्तालाई परिचालन गरिएको थियो । कार्यालय प्रमुख डा न्यौपानेले भन्नुभयो,“कार्यक्रमले पशुपालकलाई पशुमा रोग लागेपछि उपचार गर्ने अवस्थाबाट रोग लाग्न नदिन पूर्वतयारी गर्ने अभ्यासतर्फ प्रोत्साहित गरेको छ ।” पशुमा महामारीजन्य रोग फैलिँदा पशु मर्ने, उत्पादन घट्ने र पशुपालकले आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले नियमित खोप, रोगको निगरानी र समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने हुन्छ । पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम घटाउन पनि पशु स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको पशु विकास अधिकृत सहदेव पौडेलले बताउनुभयो ।

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६