ब्रेकिंग न्युज

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल



तुलसीपुर (दाङ), २४ भदौ

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ । भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो । उहाँका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ । “शय्या नपाएपछि सिकिस्त बिरामी बाध्य भएर निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वा नेपालगञ्जसम्म जानु परिरहेको छ,” उहाँले भन्नुभयो, “बिरामी शय्याका लागि कुर्नुपर्ने अवस्था छ ।” प्रादेशिक अस्पताललाई हालसम्म ५० शय्याको मात्रै स्वीकृति प्राप्त छ । यद्यपि, अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रम, सङ्घीय ससर्त कार्यक्रम र साबिकको कोभिड कार्यक्रमको जनशक्ति परिचालन गरी आफ्नै स्रोतसाधनबाट हाल १४१ शय्या सञ्चालन गरिरहेको छ । बिरामीको चाप भने अत्यधिक छ । सामान्य दिनमा पनि दैनिक ५०० भन्दा बढी र सरकारी बिदा पछिका दिनमा ओपिडीमा आउने बिरामीको सङ्ख्या ७०० सम्म पुग्ने गरेको डा होदाले बताउनुभयो । विशेषगरी बाल वार्ड, मेडिसिन वार्ड, र प्रसूति वार्डमा शय्याको अभाव छ । बाल वार्डमा ११ वटा शय्या रहेकामा चाप बढेपछि १३ वटा पु¥याइएको छ । शय्या उपलब्ध गराइदिन भन्दै दैनिक दर्जनौँ फोन आउने र बिरामीको चाप धान्न नसकिने अवस्था रहेको डा होदाले बताउनुभयो । अस्पतालमा विशेषज्ञ डाक्टरबाट सहज एवं सुलभ सेवा पाउन थालेपछि अस्पतालप्रति नागरिकको विश्वास बढेको छ । सोही कारण बिरामीको चाप अत्यधिक वृद्धि भइरहेको उहाँले बताउनुभयो । बेडको अभावमा उपचारमा समस्या हुने गरेको छ । अस्पताल विकास समितिले यसलाई सरकारीस्तरबाटै ओएनएम सर्भे गराई स्थायी दरबन्दी सिर्जना गरेर कम्तीमा २०० शय्यामा स्तरोन्नति गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६