ब्रेकिंग न्युज

बाढी–पहिरोको जोखिमलाई ध्यान दिँदै युनाइटेड अस्पतालमा २४ घण्टा विशेषज्ञ सेवा



कपिलवस्तु ८ असोज

असोज ९, १० र ११ गते भारी वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने पूर्वसूचनालाई ध्यानमा राख्दै बाणगंगा–४ स्थित युनाइटेड अस्पतालले २४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ।
नेपाल सरकार, जल तथा मौसम विज्ञान विभाग, स्थानीय सरकार तथा सुरक्षा निकायबाट जारी पूर्वसूचनालाई मध्यनजर गर्दै अस्पतालले सम्भावित विपद्बाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण तथा आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक तयारी पूरा गरेको अस्पतालका प्रबन्ध निर्देशक सुन्दर आचार्यले जानकारी दिनु भयो
अस्पताल प्रशासनले जारी गरेको सूचनामा विपद्को सम्भावित अवस्थालाई ध्यानमा राखी अस्पतालको विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक तयारी तथा व्यवस्थापन गरिएको उल्लेख छ। बाढी, पहिरो वा अन्य विपद्का कारण घाइते तथा बिरामीको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी स्वास्थ्यकर्मी, विशेषज्ञ चिकित्सक तथा प्रशासनिक जनशक्तिलाई तयारी अवस्थामा राखिने अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार विपद्का समयमा आकस्मिक उपचारमा कुनै कमी हुन नदिन आवश्यक जनशक्ति तथा सेवा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। अस्पतालले डा. रोशन कुमार यादवको संयोजकत्वमा विषयविज्ञ तथा प्राविधिक जनशक्ति र प्रशासनिक टोलीलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ।
असोज ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशसहित कपिलवस्तुमा भारी वर्षाको सम्भावना रहेको पूर्वसूचनापछि स्थानीय तह तथा सरोकारवाला निकायहरूले समेत विपद् पूर्वतयारी तीव्र बनाएका छन्। बाणगंगा नगरपालिकाले जोखिमयुक्त क्षेत्रमा निगरानी, पूर्वसूचना तथा उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने जनाएको छ।

यसअघि बाणगंगा नदीमा आएको अचानक बाढीका कारण मानवीय जोखिम समेत देखिएको घटनालाई मध्यनजर गर्दा विपद्को समयमा स्वास्थ्य संस्थाको तयारीलाई महत्वपूर्ण मानिएको छ। गत भदौमा बाणगंगा नदीमा आएको बाढीमा एक बालक बेपत्ता हुनुका साथै १३ जनाको उद्धार गरिएको थियो।
युनाइटेड अस्पतालले सम्भावित विपद्को समयमा घाइते तथा प्रभावित नागरिकलाई समयमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताललाई पूर्ण तयारी अवस्थामा राखिएको जनाएको छ। अस्पतालले विपद्का बेला स्वास्थ्य सेवामा सहज पहुँच कायम राख्न चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रशासनिक टोलीबीच समन्वयलाई प्राथमिकता दिएको छ।

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६