ब्रेकिंग न्युज

बाख्रापालनमा वार्षिक १६ लाख आम्दानी गर्दै रुद्रगोपाल



दाङ, १३ असोजः

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैँका ४५ वर्षीय रुद्रगोपाल डाँगीले व्यावसायिक रूपमा उन्नत जातका बाख्रापालन गरेर वार्षिक रु १६ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । छ वर्षदेखि व्यावसायिक बाख्रापालनमार्फत पहिचान बनाउनुभएका उहाँले दुई जना स्थानीयलाई रोजगारी पनि दिनुभएको छ । डाँगीको दैनिकी बाख्राका पाठापाठीलाई स्याहार गर्नेदेखि घाँस काट्ने, बाख्रा चराउने काममा व्यतित हुने गरेको छ । नेपाल प्रहरीमा १६ वर्षसम्म विभिन्न पदमा कार्यरत रही सेवानिवृत्त भएपछि उहाँ बाख्रापालन व्यवसायमा जोडिनुभएको हो । डाँगीले भन्नुभयो, “कृषि तथा पशुपालन क्षेत्रमा प्रशस्त सम्भावना रहेछ । यस्ताखाले व्यवसाय गरेर पनि मनग्य आम्दानी गर्न सकिने रहेछ” । विसं २०७८ देखि साहारा पशुपालन फार्म स्थापना गरेर उन्नत जातका बाख्रापालन सुरुवात गरेको उहाँले बताउनुभयो । “छ वर्ष अघि स्थानीयको एक कच्ची घर तथा जमिन भाँडामा लिएर व्यवसाय सुरुवात गरेको हुँ । व्यवसाय फस्टाउँदै गएपछि बाख्रापालनका लागि पायक पर्ने ठाउँमा पाँच कठ्ठा जमिन खरिद गरे अहिले सोही स्थानमा बाख्राकापालन गरिरहेको छुँ”, डाँगीले भन्नुभयो, “अहिले यहाँ आवश्यक खोर निर्माण गरेको छु ।” बाँकी जमिनमा बाख्रालाई खुवाउन आवश्यक पर्ने घाँसका लागि रुख रोपेको उहाँले बताउनुभयो । उहाँका अनुसार फार्ममा अहिले साना र ठूला गरी २४ भन्दा बढी बाख्रा छन् । दसैँका लागि १२ वटा खसी, सात वटा बोका बिक्री गर्ने गरी तयारी भइरहेको डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले खोरमा अधिकांश खसी २० किलोभन्दा बढी र बोका १५ किलोसम्मका छन् । डाँगीले अहिलेसम्म बाख्रा खरिद, खोर निर्माणलगायत कामका लागि रु २० लाखभन्दा बढी लगानी भइसकेको जानकारी दिनुभयो । खसी, बोका तथा बाख्राको मल बिक्रीबाट वार्षिक रु १६ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । डाँगीका अनुसार सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुने गरेको छ । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा चरणलगायत अन्य समाग्री खरिद गर्न बढी खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, उहाँले भन्नुभयो । कम लगानी गरी छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले फार्ममा विभिन्न ठाउँबाट बाख्रा हेर्न, जानकारी लिन तथा खरिदका लागि मानिस आउने गरेका बताउँदै डाँगीले बजारको अभाव नरहेको उल्लेख गर्नुभयो । पढेलेखेकाहरू पैसा कमाउन लागि जागिर खाने वा विदेश जाने परिपाटीबीच उहाँले व्यावसायिक कृषि तथा पशुपालन व्यवसायबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ । राज्यले नारामा मात्र सीमित नभई व्यवहारी रूपमा कृषि तथा पशुपालन क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा डाँगीले जोड दिनुभयो । स्थानीय सरकारले किसानद्वारा उत्पादित कृषि उपज, खसी तथा बोकाको बजार व्यवस्थापन, अनुदानलगायत क्षेत्रमा सहयोग गर्नुपर्ने उहाँको सुझाव छ । —

प्रकाशित : १३ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६