बर्दिया, १३ असोज
मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बस्तीमा माइकिङ गरी स्थानीलाई सचेत गराउनुका साथै सुरक्षा निकायलाई सर्तक अवस्थामा राखिएकाले ठूलो क्षति हुन नपाएको हो । महाशाखाले असोज ९ देखि ११ गतेसम्म ठूलो वर्षा हुने पूर्वानुमान गरेपछि सूचना प्राप्त हुनासाथ प्रशासनले बस्तीमा माइकिङ गरी स्थानीयलाई सचेत गराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो । “विगतमा जस्तो मानवीय तथा भौतिक क्षति व्यहोर्नु परेन । सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको थियो”, उहाँले भन्नुभयो, “स्थानीय जनप्रतिनिधिसँग सक्रियताका साथ समन्वय भएकाले ठूलो डुबान हुनबाट जोगियो ।” उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी गरेको थियो । विगतमा ठूलो वर्षा भई बाढी तथा डुबानको जोखिम हुने सूचना स्थानीयवासीले समयमा नपाउँदा धनजनको क्षति हुँदै आएको थियो । यसपटक भने पूर्वसूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सम्भावित विपद् जोखिमलाई पहिचान गरेर स्थानीय तहबीच समन्वय गरी सोही गाउँबस्तीमा समयमै सूचना प्रवाह गरिएको थियो । यद्यपि लगातार आएको वर्षाका कारण बर्दियाको विभिन्न १० घरमा क्षति पुगेको छ भने १५ घर डुबानमा परेको, ७३ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत एवं विपद् फोकल पर्सन लोकप्रसाद ढकालले जानकारी दिनुभयो । बर्दियामा कर्णाली, गेरुवा र भादा नदीको तटीय क्षेत्रमा करिब ५५ हजार नागरिक बाढीको जोखिममा छन् । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले ठूलो वर्षा हुने पूर्वसूचना प्राप्त भएपछि भादा नदीको डुबानको जोखिममा रहेका तटीय क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सारिएकाले ठूलो क्षति हुन नपाएको बताउनुभयो । नगर प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गरी बाढी आउन सक्ने जानकारी गराएपछि स्थानीयवासीलाई सुरक्षित स्थानका रूपमा औद्योगिक ग्राममा सारिएको थियो । त्यहाँ सारिएका नागरिकका लागि नगरपालिकाले खाने तथा बस्ने व्यवस्था मिलाएको थियो । बाढीको पानी घटेपछि सोमबारदेखि तटीय क्षेत्रका स्थानीयवासी घर फर्किन थालेको नगरप्रमुख यादवले जानकारी दिनुभयो । बर्दियामा कर्णाली र भादा नदीमा बाढी आउने अग्रिम सूचना नदीका विभिन्न स्थानमा रहेका बाढी मापन केन्द्रबाट लिने गरिएको छ । कर्णाली नदीको चिसापानी र भादा नदीको चेपाङमा रहेका बाढी मापन केन्द्रबाट नदीको जलस्तर मापन गरी सूचना प्रवाह गर्ने गरिएको जिल्ला प्रशासनले जनाएको छ । कर्णाली नदीमा १० मिटर आठ सेन्टिमिटर जलस्तर पुगेपछि खतराको चिह्न पार गर्ने गर्दछ । आइतबार राति १२ः०० बजेसम्म कर्णाली नदीको जलस्तर खतराको चिह्नभन्दा तलै रहेको चिसापानीस्थित बाढी मापन केन्द्रका गेज रिडर पार्वती गुरुङले बताउनुभयो । उहाँका अनुसार सो अवधिमा कर्णालीमा सबैभन्दा बढी आठ मिटर ९५ सेन्टिमिटर जलस्तर मापन भएको थियो । चिसापानीमा ठूलो बाढी आएमा कर्णाली नदीको डुबान प्रभावित क्षेत्रमा बाढी पुग्न करिब डेढ घण्टा लाग्ने गर्दछ । यसले सम्भावित बाढीबारे पूर्वसूचना पाएपछि जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न पर्याप्त समय मिल्ने गरेको छ । त्यस्तै भादा नदीको जलस्तर पनि खतराको चिह्नभन्दा तलै रहेको चेपाङस्थित बाढी मापन केन्द्रका गेज रिडर मोहनलाल जैसीले बताउनुभयो । –––









प्रतिक्रिया