गिद्धले प्रकृतिलाई सन्तुलित राख्न महत्वपूण भूमिका खेल्छ नगर प्रमुख अर्याल
बाणगंगा, कपिलवस्तु १४ असोज
गिद्धको संरक्षणका लागि नियमित आहारको व्यवस्थापनसँगै सुरक्षित बास स्थान र प्राकृतिक वातावरणको संरक्षणमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्।
१८औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा राजापानी सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा नेपाल पक्षी संरक्षण संघको सहयोगमा आयोजित ‘जटायु व्यवस्थापनका लागि आहार केन्द्र पहिचान तथा अन्तरक्रिया कार्यक्रम’ मा सहभागीहरूले गिद्ध संरक्षणमा आहार केन्द्रको व्यवस्थापन महत्वपूर्ण हुने बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले प्रकृति, पन्छी र मानव जीवनबीच परस्पर सम्बन्ध रहेको बताउँदै गिद्धले प्राकृतिक चक्रलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो। उहाँले प्रकृतिको एउटा पक्षमा परेको असरले त्यसको प्रभाव क्रमशः अन्य जीवजन्तु हुँदै मानव जीवनसम्म पुग्ने भएकाले वातावरणीय सन्तुलन कायम राख्न सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो।

नगर प्रमुख अर्यालले प्रकृतिमा रहेका वनस्पति, पन्छी तथा अन्य जीवजन्तुको महत्व समयमा बुझ्न नसक्दा जैविक विविधतामा समस्या देखिँदै गएको उल्लेख गर्नुभयो। गिद्धको संरक्षण एउटा पन्छीको संरक्षण मात्र नभई प्राकृतिक चक्र र वातावरणीय सन्तुलन जोगाउने अभियान भएको उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले गिद्धको संख्या र बासस्थान संरक्षणसँगै सुरक्षित तथा नियमित आहारको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। गिद्धले प्रकृतिमा रहेका मृत जीवको अवशेष सफा गर्ने भएकाले वातावरणीय स्वच्छता कायम राख्न यसको भूमिका महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा वडा सदस्य कृष्णकुमार सुनार, समूहका निवर्तमान अध्यक्ष ढाकाराम अधिकारी, समूहकी अध्यक्ष सीतादेवी पौडेल, वन रेन्जर ओमप्रकाश विक र समूहका सचिव दीनानाथ पाण्डे लगायतले गिद्ध संरक्षण तथा वातावरणीय सन्तुलनका विषयमा धारणा राख्नुभएको थियो।

राजापानी सामुदायिक वन उपभोक्ता समूहले गिद्ध संरक्षणलाई प्राथमिकतामा राख्दै संरक्षण सम्बन्धी गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आयोजकले जनाएको छ। आहार केन्द्रको पहिचान, व्यवस्थापन र स्थानीय समुदायको सहभागितालाई प्रभावकारी बनाउन सके गिद्ध संरक्षण अभियानलाई थप परिणाममुखी बनाउन सकिने सहभागीहरूको निष्कर्ष थियो।









प्रतिक्रिया