ब्रेकिंग न्युज

चण्डेश्वरी नवदुर्गा मन्दिरमा ‘ज्ञान महायज्ञ’ आयोजना हुँदै



कपिलवस्तु १८ असोज

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ ठाकुरापुरस्थित श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ ।
मन्दिरको प्राण प्रतिष्ठा तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । महायज्ञ मार्फत धार्मिक आस्था, संस्कार, नैतिक मूल्य–मान्यता र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।


महायज्ञको तयारीबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा अक्षयकोष स्थापना गरी मन्दिरको दीर्घकालीन संरक्षण र सञ्चालनलाई व्यवस्थित बनाउने विषयमा जोड दिइएको थियो । मन्दिर तथा धार्मिक स्थलको संरक्षण धार्मिक आस्थासँग मात्र नभई स्थानीय समुदायको सामाजिक तथा सांस्कृतिक पहिचानसँग पनि जोडिएको वक्ताहरूले बताएका थिए ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक मुनाराम चालिसेको अध्यक्षता र मदन शाहीको संचालनमा सम्पन्न कार्यक्रममा
कपिलवस्तु संचार सहकारीका ब्यवस्थापक भेषराज पाण्डे, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका काकी, समाजसेवी हरि पौडेल, मिलन चालिसे, दोलखबहादुर पछाई लगायतले मन्तब्य राख्नु भएको थियो ।
सो अवसरमा महायज्ञ मूल समिति २०८३का संयोजक एवम् अध्यक्ष मुनाराम चालिसेले मन्तव्य राख्दै महायज्ञलाई व्यवस्थित र उद्देश्यपरक बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।


महायज्ञमा बिहान पूजा–पाठ तथा श्रीमद् देवीभागवत पाठ–पारायण, दिउँसो संगीतमय कथा प्रवचन तथा साँझ आरती, भजन–सन्ध्या, सत्सङ्ग र झाँकीलगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
महायज्ञमा आध्यामिक प्रखरवक्त ऋषिकेश उपाध्याय, यज्ञाचार्य, आचार्य थानेश्वर ज्ञवाली , सहवाचक आचार्य कमल पौडेल सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
आयोजकका अनुसार महायज्ञमा प्राप्त सहयोगलाई मन्दिरको अक्षयकोष तथा धार्मिक–सामाजिक गतिविधिमा उपयोग गरिनेछ । यसले मन्दिरको नियमित सञ्चालनसँगै धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र सामुदायिक एकतालाई समेत प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : १८ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६