ब्रेकिंग न्युज

‘ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा’ अभियानलाई प्रशासनिक नेतृत्वसँग जोड्दै पु¥याएको योगदानको उच्च प्रशंसा



कपिलवस्तु, १९ असोज ।

वाणगंगा नगरपालिकामा विगत ३७ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत भक्तिराम मरासिनीको विदाई कार्यक्रम सम्पन्न भएको छ। अर्घाखाँची जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएपछि नगरपालिकाले उहाँको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो।
नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै मरासिनीले सेवा प्रवाह, सुशासन, विकास व्यवस्थापन तथा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा उहाँको उच्च प्रशंसा गरिएको थियो। ‘ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा’ भन्ने नगरपालिकाको मूल भावनालाई आत्मसात् गर्दै प्रशासनिक नेतृत्व प्रदान गर्न उहाँले निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको वक्ताहरूले बताएका थिए।


विदाई कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा मरासिनीलाई दोसल्ला, टीका तथा प्रशंसापत्र प्रदान गर्दै सम्मानपूर्वक विदाई गरिएको नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो।
कार्यक्रममा मरासिनीको ३७ महिने कार्यकाललाई नगरपालिकाको प्रशासनिक व्यवस्थापनका दृष्टिले महत्वपूर्ण अवधिका रूपमा स्मरण गरिएको थियो।

स्थानीय सरकारको प्रशासनिक नेतृत्व कार्यालय सञ्चालनमा सीमित नभई नागरिकका आवश्यकता, विकासका प्राथमिकता र सेवा प्रवाहसँग प्रत्यक्ष जोडिने विषय भएकाले उहाँको कार्यकालमा भएका सकारात्मक प्रयासको वक्ताहरूले प्रशंसा गरेका थिए।
विदाई कार्यक्रममा मरासिनीले आफूले बाणगंगामा कार्यरत रहँदा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चार क्षेत्र तथा नगरवासीबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभएको थियो। स्थानीय तहमा काम गर्दा सिकेका अनुभवलाई आगामी प्रशासनिक जिम्मेवारीमा समेत उपयोग गर्ने उहाँले बताउनुभयो।
‘बाणगंगासँगको सम्बन्ध पदभन्दा माथि’ भन्ने भावना सहित नगरपालिकाबाट बिदा हुँदै गर्दा मरासिनीको योगदानलाई उपस्थितहरूले आत्मीय रूपमा स्मरण गरेका थिए। लामो समय एउटै संस्थामा प्रशासनिक नेतृत्व गरेका व्यक्तिको सरुवा नियमित प्रक्रिया भए पनि उहाँले छाडेर जानुभएको कार्यशैली, अनुभव र संस्थागत योगदान नगरपालिकाका लागि महत्वपूर्ण रहने नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।
सोही अवसरमा बाणगंगा नगरपालिकाको लेखा शाखामा लामो समय कार्यरत अनन्त पोखरेलको पाल्पाको रम्भा गाउँपालिकामा सरुवा भएको तथा स्वास्थ्य शाखामा कार्यरत रिना गिरीको रूपन्देहीमा सरुवा भएको अवसरमा विदाई गरिएको थियो। सेवा निवृत्त हुनुभएका शकराते थारूलाई पनि सम्मानपूर्वक विदाई गरिएको थियो। त्यस्तै, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाबाट बाणगंगा नगरपालिकाको लेखा शाखामा सरुवा भई आउनुभएकी सरिता केसी र प्राविधिक शाखामा सरुवा भई आउनुभएका अनिल यादवलाई नगरपालिकाले स्वागत गरेको छ।
एकै कार्यक्रममा अनुभवी कर्मचारीलाई विदाई र नयाँ कर्मचारीलाई स्वागत गर्दै नगरपालिकाले प्रशासनिक निरन्तरता, अनुभव हस्तान्तरण र नयाँ जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई आत्मसात् गरेको सन्देश दिएको छ। विदाई हुने कर्मचारीलाई आगामी जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै नयाँ जिम्मेवारीसहित नगरपालिकामा प्रवेश गरेका कर्मचारीलाई प्रभावकारी सेवा प्रवाहका लागि स्वागत गरिएको थियो।
मरासिनीको विदाईसँगै बाणगंगा नगरपालिकाले उहाँको आगामी प्रशासनिक यात्राको सफलताको कामना गरेको छ भने नयाँ जिम्मेवारीमा पनि जनमुखी प्रशासन, सुशासन र सेवाप्रतिको प्रतिबद्धता अझ बलियो बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित : १९ आश्विन २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६