ब्रेकिंग न्युज

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता



काठमाडौँ, २० असोज

सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको थियो । भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभएको थियो । सभामुख अर्यालले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चीनले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको सचिवालयले जनाएको छ । उहाँले हालै रसुवामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । सभामुख अर्यालले विपद्का समयमा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । चीन सरकारले सुरुङ उद्धार तथा फरेन्सिक र डिएनए विशेषज्ञ टोली तथा ड्रोनलगायतका उपकरण उपलब्ध गराएको थियो । सभामुख अर्यालले दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ । —

प्रकाशित : २० आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६