तौलिहवा २२ असोज
कपिलवस्तु अस्पतालमा एक वर्षको अवधिमा १ लाख ६४ हजार १३९ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्डर सञ्जय कोइरीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा बहिरंग, अन्तरंग, आकस्मिक, एक्सरे तथा भिडियो एक्सरे, प्रयोगशाला र आमा सुरक्षा कार्यक्रममार्फत बिरामीले सेवा लिएका हुन् । एक वर्षमा ६९ हजार ५०२ जनाले बहिरंग सेवा, ३ हजार ९८८ जनाले अन्तरंग र २३ हजार ३३२ जनाले आकस्मिक सेवा लिएका छन्। त्यस्तै, २७ हजार ७२२ जनाले एक्सरे तथा भिडियो एक्सरे सेवा लिएका छन् ।
आमा सुरक्षा कार्यक्रमअन्तर्गत १ हजार ५६३ जनाले प्रसूति सेवा लिएकोमा ४ सय जनाले शल्यक्रियामार्फत बच्चा जन्माएका छन्। अस्पतालको विवरणअनुसार ४३ हजारभन्दा बढीले स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका छन् । ५० शय्याको कपिलवस्तु अस्पतालमा चार जना विशेषज्ञसहित १५ जना चिकित्सक कार्यरत छन्। तर, दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले बताउनुभयो ।
अस्पतालमा डेढ सयभन्दा बढी कर्मचारी कार्यरत रहे पनि अधिकांश करार तथा ज्यालादारीमा रहेका छन्। स्त्रीरोग तथा मानसिक रोग विशेषज्ञ चिकित्सकको अभावले उपचार सेवामा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले थप प्रभावकारी सेवा दिन प्रयास गरिरहेको भए पनि जनशक्ति र आर्थिक अभाव चुनौती बनेको जनाएको छ। यता सेवाग्राहीले अस्पतालको सरसफाइ, खानेपानी, शौचालय तथा बिरामी र कुरुवाका लागि बस्ने व्यवस्थामा सुधार गर्न माग गरेका छन्।
२१ आश्विन २०८३, बुधबार









प्रतिक्रिया