कृषि

दिगो वन व्यवस्थापनले रोजगारी र आर्थिक गतिविधि बढाउँछ प्रदेश सभा सदस्य पंथी



कपिलवस्तु २२ असोज

बाणगंगा नगरपालिका–१०, पटनास्थित मायादेवी साझेदारी वन उपभोक्ता समूहको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। समूहकै सभाहलमा सम्पन्न साधारण सभामा वन संरक्षण, दिगो व्यवस्थापन र वनबाट स्थानीय समुदायले प्राप्त गर्ने आर्थिक तथा सामाजिक लाभका विषयमा चर्चा गरिएको थियो।
साधारण सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले दिगो वन व्यवस्थापनले वन संरक्षणसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना, राजस्व वृद्धि र आर्थिक गतिविधि विस्तारमा योगदान पु¥याउने बताउनुभयो। उहाँले वनलाई काठ तथा वन पैदावारको स्रोतका रूपमा मात्र नहेरी संरक्षण, उत्पादन र समुदायको आर्थिक समृद्धिसँग जोडेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो।

पन्थीले वन व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै वनको दिगो उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्न सके यसबाट दीर्घकालीन रूपमा समुदायले लाभ लिन सक्ने बताउनुभयो। वन क्षेत्रको संरक्षणसँगै आयआर्जनका अवसर सिर्जना गर्न सकिने भएकाले वन उपभोक्ता समूहहरू पारदर्शिता, सुशासन र जिम्मेवार व्यवस्थापन तर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
साधारण सभामा समूहका अध्यक्ष इन्जिनियर दिनेश जयसवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले सञ्चालन गरेका गतिविधि, वन व्यवस्थापन तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनु भएको थियो। उहाँले वन संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको हितमा वनबाट प्राप्त स्रोतको उचित उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा समूहका उपाध्यक्ष शैलेन्द्रकुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारण सभामा विभिन्न वक्ताहरूले वन संरक्षण, उपभोक्ताको सहभागिता, वन स्रोतको दिगो उपयोग तथा समूहको संस्थागत विकासका विषयमा धारणा राखेका थिए।


सामुदायिक तथा साझेदारी वनले स्थानीय समुदायलाई वन संरक्षणसँग प्रत्यक्ष जोड्दै आएको अवस्थामा यस्ता साधारण सभाले विगतका कामको समीक्षा, आगामी योजना निर्माण र उपभोक्ताबीचको सहकार्यलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

वन संरक्षणसँगै रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न सके वन व्यवस्थापन स्थानीय आर्थिक विकासको आधारसमेत बन्न सक्ने सन्देश साधारण सभाले दिएको छ ।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६