बागमती, २३ असोज
मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट २०५२÷५३ सालतिर जिल्लामा सुरु भएको यो व्यवसाय तीन दशकको अन्तरालमा विस्तारित भएको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोविन्द सापकोटाले जानकारी दिनुभयो । मकवानपुरको गढी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका वडा नं १६, १७ लगायतका स्थानमा यसको विस्तार भएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा लेयर्स र ब्रोइलर गरी १० लाखभन्दा बढी कुखुरापालन भइरहेको छ”, उहाँले भन्नुभयो, “उत्पादित कुखुराको बजारको समस्या छैन । राजधानी काठमाडौँसँगै वीरगन्ज र मधेसका विभिन्न स्थानमा यहाँको उत्पादन पुग्ने गरेको छ ।” जिल्लामा करिब ४०० को सङ्ख्यामा कुखुरापालक व्यवसायी रहेको उहाँले बताउनुभयो । जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा पाल्ने व्यवसायी पाँच÷छ जनामात्रै छन् । यस्तै, १० देखि २० हजारको सङ्ख्यामा कुखुरापालन गर्ने व्यवसायी भने केही बढी छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बाहिरबाट आयातित कुखुरा तथा अण्डा निरुत्साहित गर्नेगरी राज्यले नीति लिनु जरुरी भएको सङ्घका जिल्ला उपाध्यक्ष रविन ढकालको भनाइ छ । मकवानपुरमा दैनिक चारदेखि साढे चार लाख अण्डा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । श्रोत रासस









प्रतिक्रिया