ब्रेकिंग न्युज

निरन्तर वन संरक्षणदेखि समुदायको समृद्धि सम्मनवप्रभात सामुदायिक वनको ५ करोड ३ लाखको कार्ययोजना



कपिलवस्तु, २८ असोज

वन संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय समुदायको समृद्धिलाई एकसाथ अघि बढाउने लक्ष्यसहित बाणगंगा नगरपालिका–८ स्थित नवप्रभात सामुदायिक वन उपभोक्ता समूहले यसै आर्थिक वर्षका लागि ५ करोड ३ लाख १२ हजार ८ सय रुपैयाँको वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरेको छ। समूहको १६ औँ वार्षिक साधारणसभामा प्रस्तुत योजना वनको दिगो व्यवस्थापन, वन पैदावारको सदुपयोग, उपभोक्ताको हित र सामाजिक विकासलाई प्रभावकारी बनाउने उद्देश्यसँग जोडिएको समूहका अध्यक्ष डिल्ली रेग्मीले बताउनु भयो ।
साधारणसभामा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले स्थानीय विकास, वातावरण संरक्षण र समुदायको हितका लागि सामुदायिक वन तथा स्थानीय सरकारबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले वनलाई प्राकृतिक स्रोतका रूपमा नभई स्थानीय विकास, वातावरणीय सन्तुलन र सामुदायिक समृद्धिको आधारका रूपमा बुझ्नुपर्ने सन्देश दिनुभयो।


त्यसैगरी, डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले वन संरक्षणसँगै वैज्ञानिक तथा दिगो व्यवस्थापनमा जोड दिनुभयो। वनलाई काठ र दाउराको स्रोतमा मात्र सीमित नराखी जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय समुदायको जीविकोपार्जनसँग जोडेर व्यवस्थापन गर्नुपर्ने उहाँको धारणा थियो।
साधारण सभा बनका उपाध्यक्ष मित्रलाल कडेलको स्वागत मन्तब्य र सचिव सिता भुसाल पाण्डेको संचालनमा सम्पन्न भएको सामुदायिक बनले जनाएको छ। साधारण सभामा विभिन्न विदामा सम्मान तथा पुरस्कृत गरिएको थियो ।
५ करोड भन्दा बढीको बजेटसँगै पारदर्शिताको जिम्मेवारी
यसै वर्षका लागि प्रस्तुत ५ करोड ३ लाख १२ हजार ८ सय रुपैयाँको कार्ययोजनाले नवप्रभात सामुदायिक वनको आर्थिक गतिविधि र जिम्मेवारीलाई थप महत्त्वपूर्ण बनाएको छ। यति ठूलो बजेटको प्रभावकारिता त्यसको आकारले मात्र निर्धारण गर्दैन; बजेटको स्रोत, खर्चको प्राथमिकता, कार्यान्वयनको गुणस्तर र प्राप्त उपलब्धिले यसको वास्तविक मूल्य देखाउँछन्।


त्यसैले वार्षिक बजेट तथा कार्यक्रमलाई उपभोक्ताले सहजै बुझ्न सक्ने गरी सार्वजनिक गर्नु, आम्दानी र खर्चको विवरण नियमित रूपमा अद्यावधिक गर्नु, लेखापरीक्षणका निष्कर्ष कार्यान्वयन गर्नु तथा योजनाको प्रगति सार्वजनिक समीक्षा गर्नु आवश्यक छ। बजेटअनुसार काम भयो कि भएन भन्ने विषयमा उपभोक्ताको अर्थपूर्ण सहभागिता र निगरानी सुनिश्चित गरिनुपर्छ। सामुदायिक वनको सुशासन पदाधिकारीको प्रतिबद्धतामा मात्र निर्भर हुँदैन। निर्णय प्रक्रिया कति खुला छ, उपभोक्ताको प्रश्नको जवाफ कति स्पष्ट रूपमा दिइन्छ, खरिद प्रक्रिया कानून संवद छ कि छैन जस्ता विषय पनि उत्तिकै महत्वपूर्ण रहन्छन् ।
डिजिटल बोर्ड जडान
सामुदायिक बनले आफ्ना उपभोक्तालाई डढेलो, चोरी नियन्त्रण, सचेनामूलक सन्देश प्रभाहमा सहजताका निम्ति डिजिटल बोर्ड जडान गर्ने जनाएको छ। समूहका अध्यक्ष डिल्लि रेग्मीले सामुदायिक बनको पायक पर्ने गणेश मन्दिर लौगाईमा उक्त बोर्ड जडान गर्ने र जसका निम्ति ७ लाख बजेट बिनियोजन गरिएको बताउनु भयो ।


दिगो व्यवस्थापन मुख्य चुनौती
नवप्रभात सामुदायिक वनले ३७७.६३ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापनको अभ्यास गरिरहेको छ। समूहको प्रतिवेदन अनुसार वनलाई ८० वर्षे वनबाली चक्रका आधारमा व्यवस्थापन गर्ने अवधारणा अपनाइएको छ। वन क्षेत्रलाई विभिन्न खण्ड तथा उपखण्डमा विभाजन गरी निर्धारित अवधि अनुसार वन विकास, संरक्षण, संवद्र्धन र वन पैदावार सङ्कलन गर्ने पद्धतिलाई प्राथमिकता दिइएको छ।


वनबाली चक्रको उद्देश्य उमेर पुगेका रूखको योजनाबद्ध व्यवस्थापनसँगै प्राकृतिक पुनरुत्पादनलाई प्रोत्साहन गर्नु, वनको स्वास्थ्य सुधार गर्नु र भविष्यका लागि पर्याप्त वन सम्पदा कायम राख्नु हो। तर वैज्ञानिक व्यवस्थापनको सफलता रूख कटान र वन पैदावार सङ्कलनमा मात्र निर्भर हुँदैन। कटानपछि वनमा पर्याप्त स्वस्थ रूख, नयाँ बिरुवाको पुनरुत्पादन, माटोको संरक्षण र वन्यजन्तुको बासस्थान कायम रहे–नरहेको विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
त्यसैले वन व्यवस्थापनको प्रभावकारिता मूल्याङ्कन गर्दा कति काठ उत्पादन भयो भन्ने तथ्याङ्कसँगै वनको अवस्था कति सुधारियो, प्राकृतिक पुनरुत्पादन कति भयो, वन अतिक्रमण र डढेलो नियन्त्रणमा कस्तो प्रगति भयो तथा जैविक विविधता कति सुरक्षित रह्यो भन्ने सूचकलाई पनि प्राथमिकता दिनुपर्छ।


वन व्यवस्थापनको नाममा स्रोतको दोहन हुन नदिन स्वीकृत कार्ययोजना, प्राविधिक मापदण्ड र प्रचलित कानुनको पूर्ण पालना आवश्यक हुन्छ। वन पैदावार सङ्कलन गर्दा वैज्ञानिक विधि अपनाउने, कटान भएका क्षेत्रमा पुनरुत्पादन सुनिश्चित गर्ने र संवेदनशील क्षेत्रको नियमित अनुगमन गर्ने व्यवस्था प्रभावकारी हुन सकेमा दिगोपनको लक्ष्य हासिल गर्न सकिन्छ।
्््

प्रकाशित : २८ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६