ताप्लेजुङ, ३१ असोज
यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप सङ्कलन भएको हो । भेटी सङ्कलन र दर्शनार्थीको सङ्ख्यालाई पारदर्शी बनाउन समितिले नियमित रूपमा विवरण सार्वजनिक गर्दै आएको छ । समितिको तथ्याङ्कअनुसार साउनमा दुई हजार ४६९ जना तीर्थयात्रीले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रूपैयाँ भेटी सङ्कलन भएको थियो । भदौमा छ हजार १२३ जना दर्शनार्थीबाट १३ लाख ६७ हजार रूपैयाँ र असोजमा ११ हजार ९३० जना दर्शनार्थीबाट १६ लाख ४१ हजार १५० रूपैयाँ भेटी सङ्कलन भएको छ । अघिल्ला दुई महिनाको तुलनामा असोजमा दर्शनार्थीको सङ्ख्या र भेटी सङ्कलन दुवै बढेको समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार वर्षायाम सकिएसँगै मौसममा आएको सुधार र बडादसैँको नवरात्रका कारण असोजमा तीर्थयात्रीको आगमन बढेको हो ।









प्रतिक्रिया