गण्डकी

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती



कास्की, ३१ असोज

पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा आज सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राइएको छ । परम्पराअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा फूलपाती भित्राइएको हो । सो अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारणको सहभागिता रहेको थियो । फूलपाती भित्र्याउन पोखराको मानव अधिकार चोकबाट बाजागाजासहित शोभायात्रा निकालिएको थियो । भिमसेन मन्दिर, नालाको मुख र मोहोरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर परिसर पुगेको शोभायात्रा पूजाआजासँगै समापन भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङ, प्रहरी प्रमुख नवीन कार्की लगायत सुरक्षा निकायका अधिकृतले कस्केली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्नुभएको थियो । साथै, चारवटै सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामी अर्पण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गुरुङले चाडपर्वका अवसरमा शान्ति सुरक्षा कायम गरी सबैलाई भयरहित वातावरणमा खुसीसाथ चाडपर्व मनाउने व्यवस्था मिलाउन सहयोग गर्न आग्रह गर्नुभयो । “जिल्ला प्रशासन कार्यालयको अगुवाइमा विधिपूर्वक फूलपाती भित्राइएको हो । सरकारी तवरबाटै परम्परागत रूपमा यो कार्य हामीले गर्दै आएका छौँ ।” उहाँले भन्नुभयो । परम्परादेखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीकोटमा नेपाल सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राउने प्रचलन रहिआएको छ । फूलपातीका दिन पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकाली, अकलादेवी लगायतका मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको थियो ।

प्रकाशित : १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६