म्याग्दी, ३१ असोजः
पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ । असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कबिच्छेद भएको पाउद्वारमा बेनीदेखि नेपाली सेनाको हेलिकप्टरले १०० केभिए क्षमताको ट्रान्सफर्मर ढुवानी गरेको हो । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्वारमा पैदल र सडक मार्गबाट जान सम्भव नभएपछि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको हो”, उहाँले भन्नुभयो, “स्थलमार्गबाट पुगेका प्राविधिक र स्थानीयले मर्मतको काम गरेका छन् । हामीले शनिबार नै ट्रान्सफर्मर जडान र परीक्षण गरी विद्युत् आपूर्ति सञ्चालन गराउने प्रयासमा छौँ ।” पाउद्वारको छिमेकी गाउँ किन्दुमा पनि आजै विद्युत् आपूर्ति गराउने लक्ष्यसहित प्राविधिक टोलीले काम गरिरहेको छ । नेपाने, गिवाङमा भने पैदलमार्गसमेत नभएकाले दसैपछि मर्मत गरिने वितरण केन्द्रका प्रमुख गामीले बताउनुभयो । म्याग्दी वितरण केन्द्रका अन्य ठाउँहरुमा विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ । भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्वारका १७० घरपरिवार बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन् । सडक, घोरेटो बाटो र विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । “घर भत्किएका र बस्न नमिल्ने घरका २२७ जनालाई शिख र घारमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ”, उहाँले भन्नुभयो, “बिजुली आयो अब खानेपानी, सडक र पैदलमार्ग गाउँको तत्कालीन आवश्यकता छ ।”









प्रतिक्रिया