ब्रेकिंग न्युज

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक



घोराही (दाङ), १ कात्तिक

दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ । दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो । दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ । घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि नै यो नाच सुरु भएको सोही ठाउँका स्थानीय रामप्रसाद चौधरी बताउनुहुन्छ । अन्य थारू बस्तीमा पनि कतिले सुरु गरिसकेका छन् भने कतिले सुरु गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ । सख्या नाच थारू समुदायमा मात्र नाचिने मौलिक र सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो । सख्या नाच प्रायः हरेक वर्षको दसैँको अगाडि कृष्णाअष्टमी अटवारी पर्वपछि सुरु भई तिहारसम्म नाचिने संस्कृति रहेको उहाँ बताउनुहुन्छ । स्थानीय लक्षिमा चौधरी पछिल्लो समय नाच सुरु हुने र अन्त्य हुने समय ठाउँअनुसार भने फरक फरक हुने गरेको बताउनुभयो । यो नाच महिलाहरू दुई समूहमा विभाजन भएर नाचिन्छ भने मादलेमा पुरुषहरू हुन्छन् । नाच हरेक साँझ ०६ः००–०७ः०० बजेदेखि राति १०ः००–११ः०० बजेसम्म बरघर अर्थात् गाउँका महतवाको आँगनमा नाच्ने चलन रहेको उहाँको भनाइ रहेको छ । थारू अगुवा बुद्धि चौधरीका अनुसार सख्या पैयाँ नाच सुरु हुनभन्दा अगाडि अगुवा मादले र पछुवा मादलेले विशेष किसिमको देवीदेवतालाई सम्झेर भिन्न तालमा मादल बजाउनुपर्छ । जसलाई ‘झ्वाङ मर्ना’ या ‘ट्रासन मर्ना’ भनिन्छ । त्यसपछि नाच सुरु हुन्छ । नाचमा उपस्थित युवायुवती, महिला सबैले मादलको तालमा पैयाँ नाच नाच्छन । फरक फरक ढङ्गले नचाउन सकिने पैयाँ नाच दर्जनौँ किसिमका हुन्छन् । मादलको तालमा सामूहिक रूपमा मुजुरा बजाउँदै आङ्गिक अभिनय, खुट्टाको ताल मात्र मिलाएर नचनीहरू नाच्दछन् । यस्तो पैयाँ नाच बीचबीचमा नाचिन्छ भने मूल गीतमा भने दुई समूहमा बाँडेर मादलको तालमा दुबै टोलीका नचनीहरू पालैपालो गीत गाउँदै नाच्ने गरिने उहाँको भनाइ रहेको छ । तर पछिल्लो समय यस्ता परम्परागत विधि पूरा गर्न भने छाड्दै गएको थारू अगुवा चौधरी बताउनुहुन्छ । थारू समुदायको मौलिकतासँग जोडिएको यस्तो नाच नाच्न भने नयाँ पुस्ता अग्रसर नहुने गरेको देखिएको छ । यसका कारण पुस्तान्त्रण हुन आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।

प्रकाशित : २ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६