ब्रेकिंग न्युज

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की



गुल्मी, १ कात्तिकः

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताउनुभयो । करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै उहाँले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने बताउनुभयो । महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थललगायत आधारभूत पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा सरोकारवाला निकायबीच समन्वय हुन आवश्यक छ भन्नुभयो । सो अवसरमा देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय एवं शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । “समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्यगरी महिलाको सम्मान सुनिश्चित गर्नसके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ”, महानिरीक्षक कार्कीले भन्नुभयो । उहाँले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसर भएको बताउनुभयो । स्थानीय जनसहभागिताको सहयोगमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले बताउनुभयो । मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ । निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० देखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो । मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापना भएको मानिन्छ । —

प्रकाशित : २ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६