ललितपुर, १ कात्तिक
लिच्छविकालीन समयदेखि शक्तिपीठ र राजकीय देवीका रूपमा पूजाआजासहित मनाउँदै आएको पायो (खड्ग) जात्रा यहाँ सुरु भएको छ । हरेक वर्ष दसैँको फूलपातीको दिन पाटनमा रहेको मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा राखेपछि सुरु हुने यो जात्रा विभिन्न धार्मिक विधि र परम्पराका साथ त्रयोदशीसम्म मनाइन्छ । जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीकका रुपमा रहेको पायो जात्रालाई पाटनवासीले ऐतिहासिक तथा सांस्कृतिक विरासतका रुपमा लिइने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानमानेश्वरी भवानीलाई जात्राको मुख्य आकर्षण भनेको स्थानीय देवगण अर्थात् गुठियारले हातहातमा खड्ग (तरबार) बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाएर बाजागाजाका साथ सहर तथा बस्ती परिक्रमा गर्नु हो । खड्ग जात्रा ललितपुरको पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवी, मल्ल र शाहकालीन संस्कृति बोकेको सबैभन्दा पुरानो परम्परागत जात्रा हो, यसको विशेष महत्व छ ।” यसै सन्दर्भमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले हाम्रा जीवन्त संस्कृति, धार्मिक आस्था र अमूल्य सम्पदाको गौरवलाई उजागर गर्ने ऐतिहासिक परम्पराका रुपमा रहेको अमुर्त सम्पदाका रुपमा रहेका मल्लकालीन, लिच्छविकालीन जात्रा, पर्व सञ्चालन र संरक्षणमा महानगरसँगै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो केबल एउटा जात्रा मात्र होइन, हाम्रो पहिचान हो । हाम्रा पुर्खाको विरासत हो । यो हामीले हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य सांस्कृतिक सम्पत्ति हो, यिनको संरक्षण र सञ्चालनमा कुनै पनि कमी हुन दिँदैनौँ ।”









प्रतिक्रिया