अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीद्वारा स्थानीय कफ्र्युको आह्वान



पेरिस, २ कात्तिक (रासस/एएफपी):


फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धका प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा कफ्र्यु लगाउन आह्वान गर्नुभएको छ । प्रदर्शनकारीहरूले सोमबार पेरिसस्थित लुभ्र सङ्ग्रहालयको प्रवेशद्वार अवरुद्ध पारेका छन् । सप्ताहान्तमा देशभर भएका प्रदर्शनका क्रममा पसलहरूमा तोडफोड र लुटपाट हुनुका साथै सार्वजनिक भवन तथा सवारीसाधनमा आगजनी भएको थियो । प्रहरीले अवस्थामाथिको नियन्त्रण गुमाएको गृहमन्त्री लरेन्ट नुनेजले बताएपछि प्रधानमन्त्रीले मन्त्रीहरूसँग सङ्कटकालीन बैठक गर्नुभएको थियो । आगामी शनिबार पुनः प्रदर्शन गर्ने ‘येलो भेस्ट’ आन्दोलनको घोषणापछि लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार आंशिक तथा स्थानीय कफ्र्यु लगाउन आग्रह गर्नुभएको हो । उहाँले सार्वजनिक व्यवस्था पुनःस्थापित गर्न सरकार प्रतिबद्ध रहेको र आवश्यक परे सङ्कटकाल घोषणा गर्नसमेत तयार रहेको बताउनुभयो । गत शनिबार फ्रान्सभर करिब पाँच लाख मानिस जीवनयापनको बढ्दो लागतविरुद्ध सडकमा उत्रिएका थिए । चार सातादेखि जारी प्रदर्शन सुरुमा विद्यालयको वातावरण सुधारको माग गर्दै विद्यार्थीहरूले थालेका थिए । पछि यसले व्यापक जनआन्दोलनको रूप लिएको थियो । प्रदर्शनका क्रममा मुखुन्डो लगाएका समूहहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै नगर भवनलगायत सार्वजनिक संरचनामा आगजनी र पसलहरूमा लुटपाट गरेका थिए । प्रहरीको कारबाहीमा प्रदर्शनकारीसमेत घाइते भएका छन् । न्यायमन्त्री जेराल्ड डारमानिनका अनुसार, सप्ताहान्तमा दुई हवा् ३३० भन्दा बढी मानिस पक्राउ परेका छन् । यसअघि सार्वजनिक विवरणमा झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएको उल्लेख गरिएको थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री नुनेजको राजीनामा प्रस्ताव अस्वीकार गर्नुभएको छ । यद्यपि, देशभर करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिए पनि सुरक्षा तथा गुप्तचर संयन्त्रमा कमजोरी रहेको उहाँले स्वीकार गर्नुभएको छ । फ्रान्सको चेम्बर अफ कमर्सका अध्यक्ष एलेन डि क्रेसेन्जोका अनुसार, हिंसाका कारण देशभर दुई हजारभन्दा बढी पसल प्रभावित भएका छन् । क्षति सयौँ मिलियन युरो पुग्ने अनुमान गरिएको छ । फ्रान्समा मार्चयता डिजेलको मूल्य करिब ४० प्रतिशत र पेट्रोलको मूल्य २५ प्रतिशतले बढेको छ । सन् २०२१ यता खाद्यवस्तुको मूल्य पनि २५ प्रतिशतले वृद्धि भएको छ । युरोपेली सङ्घले हिंसाको निन्दा गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकारको रक्षा हुनुपर्ने बताएको छ । जर्मनी र बेलायतले पनि हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । यसैबीच, इटाली, बेल्जियम, स्पेन र पोर्चुगलमा पनि जीवनयापन तथा आवासको बढ्दो लागतविरुद्ध प्रदर्शन भइरहेका छन् । फ्रान्समा भने आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा अशान्तिले राजनीतिक तनावसमेत बढाएको छ ।

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६