कपिलवस्तु ३ कार्तिक ।बुटवल–गोरुसिङ्गे सडक विस्तार २ बर्षमा एक तिहाई भएको छ । १ बर्षमा होला त ? बाकी २ तिहाई काम ? भन्ने प्रश्न खडा भएको छ ।यो अबस्थामापूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम अति सुस्त बनेको स्पष्ट भएको छ। निर्माण सम्पन्न गर्न एक वर्ष मात्रै बाँकी रहँदा भौतिक प्रगति २९ प्रतिशतमा सीमित भएपछि निर्धारित समयमै आयोजना पूरा हुनेमा आशङ्का बढेको छ।
करिब ५० किलोमिटर लामो सडक विस्तारका लागि २०८१ असारमा ठेक्का सम्झौता भएको थियो। २०८१ कात्तिक ४ गतेदेखि सुरु भएको निर्माण २०८४ कात्तिक ४ गतेसम्म सम्पन्न गर्नुपर्नेछ। तर, आयोजनाको प्रगति अपेक्षाअनुसार हुन सकेको छैन।
आयोजनाका दुईवटै खण्डको भौतिक प्रगति २९ प्रतिशतको हाराहारीमा छ। लट १ को भौतिक प्रगति २९।५ प्रतिशत र वित्तीय प्रगति २६।३ प्रतिशत छ। लट २ को भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति २४।३६ प्रतिशत रहेको आयोजनाका इन्जिनियर अशोक पौडेलले बताए। आयोजनाका अधिकारीहरूका अनुसार अहिलेसम्म कम्तीमा ४० देखि ४५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो।
निर्माण सामग्री र विद्युत् पोल मुख्य समस्या :
सडक विस्तारमा आवश्यक माटो, भस्कट र नदीजन्य निर्माण सामग्रीको अभाव प्रमुख अवरोध बनेको छ। निर्माण कम्पनीका अनुसार सामग्री अभावकै कारण करिब १० किलोमिटर सडकमा कालोपत्र गर्ने तयारी प्रभावित भएको छ।
त्यस्तै, सडकको दुवैतर्फ निर्माण गर्नुपर्ने नालीमध्ये हालसम्म करिब नौ किलोमिटर मात्रै पूरा भएको छ। विद्युत् पोल स्थानान्तरणमा भएको ढिलाइले पनि निर्माण कार्य प्रभावित बनेको छ।
आयोजनाका दुई खण्डमा गरी २ हजार ६२३ विद्युत् पोल सार्नुपर्नेछ। तर, तारसहित स्थानान्तरण गरिएका पोलको संख्या लट १ मा २५३ र लट २ मा १४४ मात्रै छ। पोल सार्ने जिम्मा पाएको सोहन कन्स्ट्रक्सनका ठेकेदार सम्पर्कविहीन रहेको आयोजनाका इन्जिनियरहरूले बताएका छन्।
आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले निर्माण सामग्रीको उपलब्धता र पोल स्थानान्तरणका समस्या समाधान गर्न स्थानीय तह, जिल्ला प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताइन्। उनले निर्माणको गति बढाउन आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
पुल र अन्य संरचनाको काम जारी :
सडक विस्तारअन्तर्गत निर्माण गर्नुपर्ने ३० पुलमध्ये २८ वटामा काम भइरहेको छ। तीमध्ये १५ वटा पुलको डेक स्ल्याब निर्माण पूरा भएको छ। त्यस्तै, १३३ बक्स कल्भर्टमध्ये ७४ वटाको निर्माण सम्पन्न भएको छ।
सडकमा पैदलयात्रुको सहज आवागमनका लागि ११ वटा आकाशे पुल र सवारीसाधनको आवागमन व्यवस्थित गर्न विभिन्न चोकमा अन्डरपास निर्माण गर्ने योजना छ। तर, कतिपय स्थानमा काम प्रारम्भिक चरणमै सीमित छ।
चाडपर्वका कारण कामदारको संख्या घट्दा निर्माण थप प्रभावित भएको छ। सामान्य अवस्थामा दैनिक करिब २५० कामदार परिचालन हुने गरेकोमा अहिले १५ जनाको आपत्कालीन टोली मात्रै फिल्डमा रहेको निर्माण कम्पनीले जनाएको छ।
दुवै खण्डको निर्माणका लागि चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीसँग १३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीमा ठेक्का सम्झौता भएको छ। चालु आर्थिक वर्षमा आयोजनाका लागि ४ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
गोरुसिङ्गे–चन्द्रौटा सडकको ठेक्का पनि चिनियाँ कम्पनीलाई :
यसैबीच, पूर्व–पश्चिम राजमार्गअन्तर्गत १९।२ किलोमिटर लामो गोरुसिङ्गे–चन्द्रौटा सडक चार लेनमा विस्तार गर्न चाइना एमसीसी १७ ग्रुपसँग ४ अर्ब ५६ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
निर्माण सम्पन्न गर्न कम्पनीलाई ३० महिनाको समय दिइएको छ। निर्माणपछि पाँच वर्षसम्म सडकको मर्मतसम्भार पनि कम्पनीले नै गर्नुपर्नेछ। यस खण्डमा १२ वटा नयाँ पुल, ७१ वटा कल्भर्ट र चन्द्रौटा चोकमा ८०० मिटर लामो अन्डरपास निर्माण गर्ने योजना छ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारमा भइरहेको ढिलाइका बीच नयाँ खण्डको निर्माणसमेत अघि बढ्न लागेकाले पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिमा समयमै काम सम्पन्न गर्नु चुनौतीपूर्ण देखिएको छ। निर्धारित समयभित्र आयोजना पूरा गर्न निर्माण सामग्रीको सहज आपूर्ति, विद्युत् पोल स्थानान्तरण र निर्माण कम्पनीको प्रभावकारी परिचालन आवश्यक देखिएको छ।
४ कार्तिक २०८३, मंगलबार









प्रतिक्रिया