अन्तर्राष्ट्रिय

भारतको ऊर्जा स्रोत विविधीकरणमा प्रगति भएको अमेरिकी विदेशमन्त्री रुबियोको भनाइ



मुम्बई, ३ कात्तिक (रासस/एएफपी):

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतले आफ्नो ऊर्जा आपूर्तिका स्रोत विविधीकरण गर्ने दिशामा ‘उल्लेखनीय प्रगति’ गरेको बताउनुभएको छ । रुसबाट ठूलो परिमाणमा तेल आयात गर्दै आएको भारतले वैकल्पिक स्रोततर्फ आपूर्ति विस्तार गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ । भारतको आर्थिक राजधानी मुम्बई भ्रमणका क्रममा मङ्गलबार रुबियोले भारतले ऊर्जा स्रोत विविधीकरण गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएको बताउनुभयो । “भारतले आफ्नो ऊर्जा स्रोत विविधीकरण गर्ने इच्छा बारम्बार व्यक्त गरेको छ, जुन बुद्धिमानी कदम हो,” उहाँले भन्नुभयो, “यस्तो परिवर्तन रातारात सम्भव हुँदैन । तर, भारतले यस दिशामा उल्लेखनीय प्रगति गरेको छ र यसबाट हामी खुसी छौँ ।” भारत रुसी तेलको प्रमुख आयातकर्तामध्ये एक हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अप्रिलमा सुरु गरेको भन्सार शुल्कसम्बन्धी विवादले वासिङ्टन र नयाँदिल्लीबीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ । रुबियोले भारतको ऊर्जा आवश्यकतामा अमेरिका पनि महत्वपूर्ण आपूर्तिकर्ता बन्न सक्ने बताउनुभयो । “भारतलाई आवश्यक पर्ने ऊर्जा आपूर्तिकर्तामध्ये अमेरिका पनि एक बन्न सक्छ भन्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो । व्यापार सम्झौता अन्तिम चरणमा भारत भ्रमणका क्रममा रुबियो पश्चिमी राज्य गुजरातको जामनगर पनि जाने कार्यक्रम छ । जामनगर अर्बपति मुकेश अम्बानीको रिलायन्स समूहको प्रमुख औद्योगिक केन्द्र हो, जहाँ विश्वकै सबैभन्दा ठूलो तेल प्रशोधन परिसर अवस्थित छ । “भारत तेल प्रशोधनको क्षेत्रमा एक महाशक्ति हो,” रुबियोले भन्नुभयो । भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग वार्ता गर्नुका साथै विभिन्न व्यावसायिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । रुबियोको भ्रमण भारत र अमेरिकाबीच व्यापार सम्झौतालाई अन्तिम रूप दिने प्रयास जारी रहेका बेला भएको हो । भन्सार शुल्क र बजार पहुँचलगायतका विषय लामो समयदेखि दुई देशबीच मतभेदका कारण बन्दै आएका छन् । सम्झौताबारे आशावादी देखिएका रुबियोले दुवै पक्ष सहमतिनजिक पुगेको बताउनुभयो । “हामी सम्झौताको निकै नजिक पुगेका छौँ । हस्ताक्षर हुनुअघि पुग्न सकिने जति नजिक हामी अहिले छौँ,” उहाँले भन्नुभयो, “अब केही सीमित विषय मात्र टुङ्ग्याउन बाँकी छन् ।” रुबियोले छिट्टै सकारात्मक खबर सार्वजनिक हुने र त्यसपछि दुवै देशका नेताले सम्झौतामा हस्ताक्षर गर्न सक्ने आशा व्यक्त गर्नुभयो । यसअघि फेब्रुअरीमा भारतीय वस्तुमाथि लाग्ने अमेरिकी भन्सार शुल्क घटाउने उद्देश्यसहित दुवै देशबीच अन्तरिम व्यापार सम्झौता गर्ने सहमति भएको थियो । तर, त्यसको केही दिनपछि अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले लगाएका व्यापक भन्सार शुल्क खारेज गरेपछि सम्झौता कार्यान्वयनको समयतालिकाबारे अन्योल उत्पन्न भएको थियो । त्यसयता दुवै देशका अधिकारीहरूबीच व्यापार सम्झौताका विषयमा निरन्तर वार्ता भइरहेको छ । –––

प्रकाशित : ४ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६