वासिङ्टन, ३ कात्तिक (रासस\]एएफपी):
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा संसद्को नियन्त्रण निर्धारण गर्ने मध्यावधि निर्वाचनमा नोभेम्बर ३ मा मतदान हुँदैछ । बढ्दो जीवनयापन खर्च, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्रेटहरूलाई रिपब्लिकनका बलिया क्षेत्रमा समेत चुनौती दिने अवसर दिएको छ । तर निर्वाचन क्षेत्रको पुनःसीमाङ्कन र चुनावी खर्च वृद्धिले परिणाम अनिश्चित बनाएको छ । सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्रेटका ४७ सदस्य छन् । माथिल्लो सदनको नियन्त्रण लिन डेमोक्रेटहरूले चार सिटको खुद लाभ हासिल गर्नुपर्नेछ । प्रतिनिधिसभाका सबै ४३५ सिटमा निर्वाचन हुँदैछ । बहुमतका लागि डेमोक्रेटहरूले कम्तीमा २१८ सिट जित्नुपर्नेछ । सिनेटका लागि नर्थ क्यारोलिना, टेक्सास, ओहायो, मेन, अलास्का, आयोवा, कन्सास र मिशिगनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । नर्थ क्यारोलिनामा रोय कुपर र माइकल ह्वाटली, टेक्सासमा जेम्स तालारिको र केन प्याक्सटन तथा ओहायोमा सेरोड ब्राउन र जोन हस्टेडबीच प्रतिस्पर्धा छ । मेनमा रिपब्लिकन सुसान कोलिन्स, अलास्कामा डेमोक्रेट मेरी पेल्टोला र आयोवामा एश्ले हिन्सन तथा जोश टुरेकको प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ । कन्सासमा डेमोक्रेट एडम ह्यामिल्टनले रिपब्लिकन रोजर मार्सललाई चुनौती दिनुभएको छ । मिशिगनमा रिपब्लिकन माइक रोजर्स र डेमोक्रेट अब्दुल एल–सायेदबीच प्रतिस्पर्धा हुँदैछ । यी परिणामले सिनेटको नियन्त्रणमा निर्णायक प्रभाव पार्न सक्छन् । प्रतिनिधिसभातर्फ न्युयोर्क, नेब्रास्का, पेन्सिलभेनिया, न्यु जर्सी, भर्जिनिया र आयोवाका निर्वाचन क्षेत्र महत्त्वपूर्ण मानिएका छन् । भर्जिनियाका रिपब्लिकन बहुल क्षेत्रमा डेमोक्रेटहरूको सम्भावित जितले देशव्यापी चुनावी लहरको सङ्केत दिन सक्छ । तर अलाबामा र टेक्सासका केही क्षेत्रमा डेमोक्रेटहरूले आफ्ना सिट जोगाउनुपर्ने चुनौती पनि छ । यस निर्वाचनमा ३६ राज्यले गभर्नर चयन गर्दैछन् । टेक्सासमा डेमोक्रेट जिना हिनोजोसाले रिपब्लिकन ग्रेग एबटलाई, ओहायोमा एमी एक्टनले विवेक रामास्वामीलाई चुनौती दिनुभएको छ । नेभाडामा रिपब्लिकन गभर्नर जो लोम्बार्डोले डेमोक्रेट आरोन फोर्डको सामना गर्दै हुनुहुन्छ । यी प्रतिस्पर्धाले पनि रिपब्लिकनको राजनीतिक पकड र ट्रम्पको लोकप्रियताको अवस्था मापन गर्नेछन् । –––









प्रतिक्रिया