गण्डकी

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी



गण्डकी, ५ कात्तिक :

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी सङ्कलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा रु तीन करोड ८६ लाख ५१ हजार ९०८ सङ्कलन गरेको छ । कार्यालयले जडीबुटी, काठ दाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा रु पाँच करोड ७७ लाख १६ हजार ७८१ र आव २०८०/८१ रु तीन करोड ९० लाख ९८ हजार ९९१ सङ्कलन भएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेका ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा, ढुङ्गागिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । “प्राकृतिक स्रोतको उपयोगबाट सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन्”, उहाँले भन्नुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमुल्य यार्सागुम्बालगायतका जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्वपूर्ण टेवा पुगेको छ । आयोजना कार्यालयले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको छ । पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवद्र्धनका कार्यक्रममा खर्च गर्ने गरिएको आयोजना कार्यालयले जनाएको छ । कार्यालयले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्रै वार्षिक करोडौँ रुपैयाँ राजश्व सङ्कलन हुने गरेको छ । संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ ।

प्रकाशित : ६ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६