अन्तर्राष्ट्रिय

अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने



वासिङ्टन, ८ कात्तिक (रासस/एएफपी):


जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ । उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । अउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित चुनावी सभामा ट्रम्पले शनिबार जर्जिया राज्यमा अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । उहाँले जर्जियाको मेकोन सहरनजिकै अउडीले चार दशमलव दुई अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्को महिनादेखि कारखाना निर्माण सुरु हुने र त्यहाँबाट वार्षिक दुई लाख कार उत्पादन हुने बताउनुभयो । यद्यपि, फोक्सवागन समूहको एक हिस्सा रहेको अउडीले जारी गरेको विज्ञप्तिअनुसार कारखानाको निर्माण आगामी वर्ष सुरु हुनेछ भने उत्पादन सन् २०३० को दशकको सुरुतिर थालिनेछ । कम्पनीले यो लगानीले अमेरिकासँगको दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ । साथै, युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । जर्मन अटो उद्योगको प्रमुख कम्पनी फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा अस्थिर मागलगायत चुनौतीको सामना गरिरहेको छ । फोक्सवागन समूहअन्तर्गतका १० ब्रान्डमा, विशेषगरी फोक्सवागन, अउडी र पोर्शमा, करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ । लागत घटाउन विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ । –

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६