कृषि

किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता



भद्रपुर (झापा), ९ कात्तिक

झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ । चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान–बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले प्रभावित बस्तीमा ‘माइकिङ’मार्फत सचेतना फैलाइरहेको छ । हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र अँध्यारो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कतासँगै जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिइएको बताउनुभयो । “धानबाली जोगाउने चिन्तामा रहेका किसान तथा स्थानीय बासिन्दाले हात्तीको जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा लखेट्ने प्रयास नगरी सुरक्षित स्थानमा जानुपर्छ,” कर्माचार्यले भन्नुभयो । उहाँका अनुसार हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल तथा पैदल गस्ती परिचालन गरी निगरानी भइरहेको छ । स्थानीय बासिन्दालाई हात्तीको आवतजावतबारे सचेत गराउने र सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा स्थानीयसँग समन्वय गर्ने काम पनि भइरहेको छ । धानबाली भित्र्याउने समय नजिकिँदै गर्दा खेतबारीमा जाने, राति बालीको निगरानी गर्ने तथा हात्ती धपाउने प्रयास गर्दा जोखिम हुन सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन सशस्त्र प्रहरीले आग्रह गरेको छ । हात्तीको बाटो अवरुद्ध गर्ने, नजिकै गएर फोटो वा भिडियो खिच्ने तथा भीड जम्मा भएर हात्तीलाई घेराबन्दी गर्ने कार्यले जोखिम बढाउन सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न पनि अनुरोध गरिएको छ । त्यसैगरी, घर, गोठ तथा आँगन वरपर हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा नराख्न, घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न आग्रह गरिएको छ । बस्तीमा रहेका बालबालिका, वृद्धवृद्धा तथा अन्य जोखिममा पर्न सक्ने व्यक्तिको विशेष ख्याल गर्न पनि सशस्त्र प्रहरीले अनुरोध गरेको छ । झापामा मेचीनगरको बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र क्षतिको समस्या देखिँदै आएको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र हात्ती देखिएमा नजिक नजान सशस्त्र प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : १० कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६