अन्तर्राष्ट्रिय

जलवायु लक्ष्यअनुसार उत्सर्जन कटौती अपर्याप्त हुने



वासिङ्टन, १० कात्तिक (रासस÷एएफपी):


विश्वका राष्ट्रहरूले प्रस्तुत गरेका जलवायु प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भए पनि सन् २०३५ सम्म हरितगृह ग्यास उत्सर्जन छ प्रतिशत मात्र घट्ने संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्न भने सन् २०१९ को तुलनामा उत्सर्जन ६० प्रतिशत घटाउन आवश्यक छ । सन् २०२४ जनवरीदेखि २०२६ अगस्टसम्म १५४ देशले प्रस्तुत गरेका जलवायु योजनाको विश्लेषणमा आधारित प्रतिवेदनअनुसार ती योजनाले विश्वव्यापी उत्सर्जनको ७१ प्रतिशत समेट्छन् । सर्तसहितका लक्ष्यसमेत पूरा भए उत्सर्जन कटौती नौ प्रतिशतसम्म पुग्न सक्छ । टर्कीमा हुने जलवायु सम्मेलन (कोप–३१) सुरु हुन केही साताअघि प्रतिवेदन सार्वजनिक गरिएको हो । गत वर्ष संयुक्त राष्ट्रसङ्घले सन् २०३५ सम्म उत्सर्जन १० प्रतिशत घट्ने अनुमान गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका दोस्रोपटक पेरिस जलवायु सम्झौताबाट बाहिरिएको र जीवाश्म इन्धनलाई प्राथमिकता दिइरहेको अवस्थामा उत्सर्जन घटाउने चुनौती थपिएको छ । संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले प्रतिबद्धता कार्यान्वयनका व्यावहारिक उपाय अपनाउनुपर्ने बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलका अनुसार तापक्रम वृद्धि दुई डिग्री सेल्सियसभन्दा कम राख्न पनि सन् २०३५ सम्म उत्सर्जन ३७ प्रतिशत घटाउन आवश्यक छ । वैज्ञानिकहरूले १.५ डिग्रीको सीमाभन्दा माथि तापक्रम बढ्दै जाँदा चरम मौसमी घटना र अपरिवर्तनीय वातावरणीय परिवर्तनको जोखिम बढ्ने चेतावनी दिएका छन् । पूर्वऔद्योगिक समयको तुलनामा विश्वको तापक्रम करिब १.४ डिग्री सेल्सियस बढिसकेको छ र आगामी केही वर्षमै १.५ डिग्रीको सीमा पार हुने अपेक्षा गरिएको छ । यसैबीच, जलवायु परिवर्तन नियन्त्रणका लागि वित्तीय लगानी बढे पनि आवश्यकताभन्दा कम रहेको संयुक्त राष्ट्रसङ्घको अर्को प्रतिवेदनले जनाएको छ । सन् २०२३ र २०२४ मा विश्वव्यापी जलवायु वित्तको औसत प्रवाह वार्षिक एक हजार नौ सय अर्ब अमेरिकी डलर पुगेको थियो । यो सन् २०२१ र २०२२ को तुलनामा ३२ प्रतिशत बढी हो । नवीकरणीय विद्युत् उत्पादन र न्यून उत्सर्जन प्रविधिमा निजी क्षेत्रको लगानी बढ्नु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ । –––

प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६