देश

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ: मन्त्री गौतम



काठमाडौँ, १९ कात्तिक

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा सहमति नभए विकल्प खोज्न सरकार तयार रहेको बताउनुभएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सरोकार भएकाहरूसँगको छलफलमा उहाँले मेलमिलापलाई प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । विधेयकमा पाँच वा सोभन्दा बढी न्यायाधीश रहेको अदालतमा कम्तीमा एक जना न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रस्ताव गरिएको उल्लेख गर्दै मन्त्री गौतमले यसले मेलमिलाप प्रक्रियाप्रति पक्षहरूको विश्वास र न्यायालयको विश्वसनीयता बढाउने अपेक्षा गरिएको बताउनुभयो । न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिन हुने वा नहुने विषयमा सरोकार भएकाहरूको मत विभाजित भएमा थप छलफल अघि बढाउन सकिने उहाँले बताउनुभयो । उक्त प्रस्ताव सबैलाई उपयुक्त नलागे त्यसको विकल्प खोज्न सकिने उहाँको भनाइ छ । “हाम्रो उद्देश्य भनेको मेलमिलापलाई सकेसम्म सबैको पहुँचमा पुर्‍याउनु र मेलमिलापबाटै विवाद समाधान गर्नु हो । मेलमिलापबाट समस्या समाधान गर्न सकियो भने जनतालाई सहज हुन्छ भन्ने हो”, मन्त्री गौतमले भन्नुभयो । मन्त्री गौतमले कानुन निर्माण गर्दा सैद्धान्तिक तथा कानुनी मान्यतासँगै स्थानीय तहमा काम गर्ने व्यक्तिहरूका व्यावहारिक अनुभव र जटिलतालाई पनि समेट्नुपर्नेमा जोड दिनुभयो । बन्द कोठामा निर्माण गरिएका नीतिले व्यवहारमा समस्या निम्त्याउन सक्ने भन्दै उहाँले सरोकार भएकाहरूबाट प्राप्त सुझावले विधेयकको दफावार छलफललाई थप प्रभावकारी बनाउने बताउनुभयो । अदालतमा मुद्दा पुग्दा नागरिकले आर्थिक खर्च, लामो समय र पुनरावेदन प्रक्रियासमेतको झन्झट बेहोर्नुपर्ने अवस्थाबारे चिन्ता व्यक्त गर्दै मन्त्री गौतमले विशेषगरी पारिवारिक तथा सामाजिक सम्बन्धभित्रका विवाद अदालतसम्म पुग्दा लामो समयसम्म सम्बन्ध बिग्रिने र सामाजिक सद्भावमा समेत असर पर्ने भएकाले मेलमिलापलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । —

प्रकाशित : २० कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६