कञ्चनपुर, २३ कात्तिक
कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको हो । परम्परागत रूपमा गहुँ र धानखेतीसँगै उहाँले विभिन्न जातका तरकारीको बेर्ना उत्पादनलाई आम्दानीको स्रोत बनाउनुभएको छ । उहाँले प्याज, टमाटर, बन्दा, काउली, खुर्सानीलगायत विभिन्न प्रजातिका तरकारीको बेर्ना उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । “गहुँ र धान खेती बुबाको पालादेखि नै गर्दै आएको हुँ, तरकारीको बेर्ना उत्पादनमा लागेको पनि २० वर्ष भयो,” रानाले भन्नुभयो, “बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुन्छ अरू आम्दानीको स्रोत छैन यसैबाट घरखर्च चलेको छ ।” उहाँले दुई बिघा आफ्नै जग्गा र दुई बिघा अधियाँमा गहुँ र धानखेती गर्दै आउनुभएको छ । गहुँ र धानको बीउ बिक्रीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी गर्दै आएको रानाले बताउनुभयो । “गहुँ र धानको बीउ बिक्रीबाट वार्षिक रु दुई/दुई लाख आम्दानी हुन्छ”, रानाले भन्नुभयो, “२० देखि २५ हजारको बेर्ना बिक्री गर्छु ।” उहाँले यस वर्ष प्याजको बेर्ना मात्रै रु २५ हजारको बिक्री गरेको जानकारी दिनुभयो । यसबाहेक अन्य बन्दा, काउलीलगायत तरकारीको बेर्ना बिक्रीबाट रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने बताउँदै उहाँले स्वदेशमा कृषि कर्मबाट पनि सहज जीविकोपार्जन गर्न सकिने सन्देश युवालाई दिनुभयो । “तरकारीको बेर्ना बिक्रीबाट घरखर्च चल्छ । प्रतिबोट रु दुईदेखि रु तीन रुपयाँसम्म बिक्री गर्छु”, उहाँले भन्नुभयो, “बिक्रीका लागि समस्या छैन, गाउँघरमा किन्ने आउनुहुन्छ, बजार जानु पदैन ।” गहुँ र धानको बीउ गाउँमै बिक्री हुने गरेको रानाको भनाइ छ । “घर नजिकै उदयदेव सहकारीको बीउ प्रशोधन केन्द्र छ त्यहा गहुँ र धानको बीउ बिक्री गर्छु”, उहाँले भन्नुभयो, “मेरो कुनै रोजगारी छैन खेती र तरकारीको बेर्ना बिक्री गरेर अर्को पटक खेती गर्नमा लगानी गर्छु । छोराछोरीको पढाइ र घरखर्च सबै चलेको छ ।” उहाँको व्यवसायले गाउँमा तरकारी खेती गर्ने अन्य किसानलाई पनि सहज बनाएको छ । विभिन्न जातका तरकारीका बेर्ना गाउँमै उपलब्ध हुने भएपछि तरकारी खेती गर्ने किसानलाई सहज भएको छ ।









प्रतिक्रिया