जीतपुर, कपिलवस्तु २३ कात्तिक
गाईको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व उजागर गर्दै बाणगङ्गा नगरपालिकाद्वारा सञ्चालित विभिन्न गौशालामा गौपूजा तथा गोवर्धन पूजा कार्यक्रम सम्पन्न भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताउनु भयो । गौपूजा औँसीको अवसरमा नगरपालिका अन्तर्गतका सबै गौशालामा विशेष पूजाआजा गरी गाईप्रति श्रद्धा, सम्मान र संरक्षणको सन्देश प्रवाह गरिएको प्रवक्ता पौडेलले जानकारी दिनु भयो ।
यस अवसरमा विशेषगरी भागीरथी गौसंरक्षण विकास केन्द्र अन्तर्गत मधुवन गौशालामा बृहत् गौपूजा तथा देउसीभैलो कार्यक्रम आयोजना गरिएको थियो। गौशालाका अध्यक्ष चक्रबहादुर भण्डारीको अध्यक्षता तथा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा गौसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नगरपालिकाद्वारा सञ्चालित कोठी, कपिलधाम, भलवाड, जिनुवा तथा रामदत्तिवनस्थित गौशालामा समेत गौपूजा तथा गोवर्धन पूजा कार्यक्रम सम्पन्न भएका छन्। यसैगरी नगरपालिका भित्रका विभिन्न घर तथा गोठमा समेत परम्परागत विधि अनुसार गौपूजा र गोवर्धन पूजा गरिएको थियो।
हिन्दू धर्म र संस्कृतिमा गाईलाई आस्था, श्रद्धा र समृद्धिको प्रतीकका रूपमा लिइन्छ। धार्मिक महत्त्वसँगै कृषि, पशुपालन तथा मानव जीवनसँग जोडिएको गाईको संर
क्षण गर्नु सामाजिक र सांस्कृतिक दायित्व समेत हो। गौपूजालाई धार्मिक अनुष्ठानमा सीमित नराखी पशु संरक्षण, पशुप्रति करुणा र स्थानीय स्तरमा गौसंरक्षणको अभियानसँग जोड्नुपर्ने सन्देश कार्यक्रमले दिएको नगर प्रमुख चक्रपाणी अर्यालको भनाई रहेको छ।

कार्यक्रमको सफल आयोजनाका लागि भागीरथी गौसंरक्षण विकास केन्द्र मधुवन गौशालाका अध्यक्ष चक्रबहादुर भण्डारी सहित व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको योगदानको प्रशंसा गरिएको छ। साथै कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा गौसेवकहरूप्रति आयोजकले आभार व्यक्त गरेका छन्।
गौशालाको व्यवस्थापन, संरक्षण र सञ्चालनमा स्थानीय सरकारसँगै नागरिक तथा सामाजिक संस्थाहरूको सहकार्य आवश्यक रहेको सन्देश समेत यस कार्यक्रमले दिएको छ। धार्मिक आस्थालाई व्यवहारमा उतार्दै गौमाताको संरक्षण र सेवामा सामूहिक प्रतिबद्धता जनाउनु नै गौपूजाको सार्थकता हुने अध्यक्ष चक्रबहादुर भण्डारीको भनाई रहेको छ ।









प्रतिक्रिया