अन्तर्राष्ट्रिय

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती



हङकङ, २३ कात्तिक (रासस/एएनआई) :
अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ । चीनले उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको र यसबाट अमेरिका तथा उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढ्न सक्ने प्रतिवेदनको मूल्याङ्कन छ । अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनले चीन, रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ । यी देशले उपग्रह प्रणाली अवरुद्ध गर्ने, क्षति पु¥याउने वा नष्ट गर्न सक्ने प्रविधि विकास गरिरहेको उल्लेख गर्दै प्रतिवेदनले विशेषगरी चीन र रुसको जामिङ, साइबर आक्रमण तथा प्रत्यक्ष विनाशकारी हतियारको क्षमताबारे ध्यानाकर्षण गराएको छ । चीनले अन्तरिक्ष क्षेत्रमा अग्रणी शक्ति बन्ने, अन्तर्राष्ट्रिय मापदण्डमा प्रभाव बढाउने र अन्य देशको अन्तरिक्ष प्रणालीमाथिको निर्भरतालाई रणनीतिक लाभका रूपमा उपयोग गर्ने लक्ष्य राखेको डिआइएको आकलन छ । सन् २०१६ मा २२ वटा अन्तरिक्ष प्रक्षेपण गरेको चीनले सन् २०२५ मा ९३ वटा गरेको थियो । त्यस्तै, सन् २०१६ मा ४० वटा उपग्रह प्रक्षेपण गरेको चीनले गत वर्ष ३८४ वटा प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेको प्रतिवेदनमा जनाइएको छ । यी उपग्रहबाट प्राप्त सूचनाले सैन्य गतिविधि, हतियारको लक्ष्य निर्धारण, मौसम, समुद्री अवस्था र सञ्चारमा सहयोग पु¥याउन सक्छ । नागरिक तथा व्यावसायिक प्रयोजनका उपग्रहबाट प्राप्त तथ्याङ्कसमेत चिनियाँ जनमुक्ति सेनाले उपयोग गर्न सक्ने प्रतिवेदनको भनाइ छ । चिनियाँ उपग्रह प्रणालीले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाको गतिविधि निगरानी गर्न र विमानवाहक युद्धपोतको अवस्थिति पहिचान गर्न सहयोग गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । चीनले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिक रहने कक्षमा ठूलो सङ्ख्यामा उपग्रह राखेर सञ्जाल विस्तार गरिरहेको छ । यसबाट विश्वका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र प्राप्त गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । चीनको बेइडोउ नेभिगेसन प्रणालीमा ४९ उपग्रह छन् र यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ । चिनियाँ सेनाले निर्देशित हतियारको लक्ष्य निर्धारणमा समेत यसको प्रयोग गर्ने गरेको छ । अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशमा उपग्रह निर्माण, प्रक्षेपण, तालिम तथा बेइडोउ सेवामार्फत चीनले अन्तरिक्ष सहकार्य विस्तार गरिरहेको छ । चीनका ४०० भन्दा बढी व्यावसायिक अन्तरिक्ष कम्पनीले स्वदेशी तथा विदेशी ग्राहकलाई सेवा दिन सक्ने प्रतिवेदनमा जनाइएको छ । डिआइएका अनुसार चीनले उपग्रह नष्ट गर्न सक्ने भूमिमा आधारित प्रतिउपग्रह क्षेप्यास्त्रसहित जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरिरहेको छ । चीनले सन् २००७ मा क्षेप्यास्त्र प्रहार गरी मौसम उपग्रह नष्ट गरेको थियो भने सन् २०१३ मा ३० हजार किलोमिटर उचाइसम्म वस्तु प्रक्षेपण गरेको थियो । यस क्षमताबाट पृथ्वीबाट धेरै टाढा अन्तरिक्षमा रहेका उपग्रहलाई समेत निशाना बनाउन सकिने अनुमान गरिएको छ । त्यस्तै, आफ्ना उपग्रहबाट अन्य देशका अन्तरिक्षयानको निगरानी र गतिविधिमा हस्तक्षेप गर्न सक्ने क्षमता पनि चीनले विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘टोङ्क्सिन जिशु शियान’ शृङ्खलाका २७ उपग्रहलाई सम्भावित हस्तक्षेपकारी प्रणालीका रूपमा उल्लेख गर्दै तीमध्ये केही विदेशी अन्तरिक्षयानको १० किलोमिटर नजिक पुगेको जनाइएको छ । ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले प्रतिअन्तरिक्ष क्षमता प्रयोग गर्न सक्ने डिआइएको आकलन छ । अन्तरिक्षमा हतियार तैनाथ नगर्ने प्रतिबद्धता अघि सार्दै आएको चीनले भने प्रतिअन्तरिक्ष हतियार विकास जारी राखेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ अप्रिलमा राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनाको रणनीतिक सहयोग बल विघटन गरेपछि अन्तरिक्षसम्बन्धी क्षमता नयाँ एरोस्पेस फोर्समा समावेश गरिएको थियो, जुन केन्द्रीय सैन्य आयोगअन्तर्गत रहन्छ । प्रतिवेदनले रुसले युक्रेन युद्धमा व्यावसायिक उपग्रह तथा सञ्चार प्रणालीलाई निशाना बनाएको र चीनले रुसी सैन्य कारबाहीलाई आवश्यक अन्तरिक्षसम्बन्धी सहयोग बढाउँदै लगेको पनि उल्लेख गरेको छ । आगामी दशकमा चीन र रुसले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणाली तथा अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गरे अन्तरिक्ष सुरक्षाको चुनौती थप बढ्न सक्ने डिआइएको चेतावनी छ । —

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६