अन्तर्राष्ट्रिय

जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार हुने गरेको खुलासा



बर्लिन, २५ कात्तिक (रासस/एएफपी):
जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुव्र्यवहार हुने गरेको खुलासा गरेको छ । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, यसबाट विशेषगरी महिला सैनिकहरू बढी प्रभावित छन् । यो सर्वेक्षण जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा वृद्धि गर्न र विशेषगरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला सार्वजनिक भएको हो । जर्मनीको सशस्त्र बललाई ‘बुन्डेसवेर’ भनिन्छ । मन्त्री पिस्टोरियसका अनुसार, सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुव्र्यवहार भोगेको बताएका छन् भने १० प्रतिशतले शारीरिक यौन दुव्र्यवहारको सामना गर्नुपरेको बताएका छन् । उहाँका अनुसार, कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू यस्तो दुव्र्यवहारबाट बढी प्रभावित छन् । पुरुष सैनिकहरूमध्ये भने विपरीत लिङ्गिप्रति आकर्षित नहुनेहरू बढी दुव्र्यवहारको सिकार भएको पाइएको छ । “बुन्डेसवेरमा यौन दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीति लागू हुन्छ,” पिस्टोरियसले भन्नभयो । उहाँले यस्तो समस्या सम्बोधन गर्न पीडितलाई सहयोग उपलब्ध गराउने, रोकथामका उपाय प्रभावकारी बनाउने तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना पनि प्रस्तुत गर्नुभयो । सर्वेक्षणमा सहभागी कुल सैनिकमध्ये दुई प्रतिशतले आफू यौन हिंसाको सिकार भएको बताउनुभएको छ । मन्त्री पिस्टोरियसले यो अध्ययन बुन्डेसवेरमा गरिएको आफ्नो किसिमको पहिलो सर्वेक्षण भएको बताउनुभयो । अध्ययनका लागि महिला तथा पुरुष सैनिकबाट आठ हजार प्रश्नावली भराइएको थियो । यो सङ्ख्या जर्मन सेनाको कुल जनशक्ति एक लाख ८६ हजार दुई सयको करिब चार प्रतिशत हो । यसैबीच, ग्रिन्स पार्टीकी सांसद सारा नान्नीले यस्ता घटनाबारे उजुरी दिन सहज बनाउन स्वतन्त्र बाह्य अनुसन्धान निकाय गठन गर्नुपर्ने माग गर्नुभएको छ । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि जर्मनीले आफ्नो रक्षा क्षमता सुदृढ पार्ने प्रयास तीव्र बनाएको छ । रुसी खतराको सामना गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा युरोपबाट अमेरिकी सैन्य उपस्थिति घट्न सक्ने सम्भावनालाई ध्यानमा राख्नु तथा नेटोका नयाँ लक्ष्य पूरा गर्नु जर्मनीको प्राथमिकतामा छन् । बर्लिनले सन् २०३५ सम्ममा दुई लाख ६० हजार सक्रिय सैनिक र दुई लाख जगेडा सैनिकसहितको सैन्य बल तयार पार्ने लक्ष्य राखेको छ । सन् २०११ मा अनिवार्य सैन्य सेवा स्थगन गरिएपछि पर्याप्त लगानीको अभाव र सैनिक सङख्यामा निरन्तर आएको गिरावटका कारण जर्मनीको सैन्य क्षमतामा ह्रास आएको थियो । हाल बुन्डेसवेरमा महिला सैनिकको सहभागिता करिब १४ प्रतिशत मात्र छ । –––

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६